काठमाडौँ /१५ मंसिर – शिक्षक सेवा आयोगले गत मंगलबार सार्वजनिक गरेको निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजामा धेरै विद्यार्थीहरू पास हुन सकेनन् । यो नतिजा मात्रै होइन आयोगले लिने खुला लिखित प्रतियोगितात्मक परीक्षामा आवेदन माग गरेको भन्दा निकै काम सङ्ख्यामा पास भएको पाइएको छ ।
भर्खर सार्वजनिक भएको निमावि तह लाइसेन्स परीक्षाको नतिजालाई मात्रै हेर्ने हो भने १ लाख ५१ हजार १२ जनाले परीक्षा दिएका थिए । जसमा १३ हजार सात जना मात्रै परीक्षा उत्तीर्ण गरेका छन् । यो भनेको जम्मा ८।६१ प्रतिशत हुन आउँछ ।
कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएका थिए । जसमा २ हजार १३० जना उत्तीर्ण भएका छन् । त्यस्तै मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १ हजार ६१४ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशबाट १७ हजार ६५१ जनाले परीक्षा दिएका थिए । जसमा २ हजार २ जना पास भएका छन् । गण्डकी प्रदेशमा ११ हजार ८९७ जनाले परीक्षा दिएकोमा १ हजार १५२ जना उत्तीर्ण भएका छन् ।
लुम्बिनी प्रदेशमा २९ हजार २३० जनाले परीक्षा दिएका थिए । जसमा २ हजार ८६३ जना उत्तीर्ण भएका छन् । कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ५७४ जना उत्तीर्ण भएका छन् । सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६७२ जना उत्तीर्ण भएका थिए ।
आयोगले लिएका जुनसुकै लिखित परीक्षामा पनि किन धेरै सङ्ख्यामा पास हुँदैनन् त ? के यसमा विश्वविद्यालयको पढाइ नै गलत छ त ? आयोगले प्रश्न निकाल्दा तोकिएको पाठ्यक्रम भन्दा बाहिरबाट निकालेको हो त ? वा उत्तरपुस्तिका चेकमा त्रुटि भयो त ? सम्भवत धेरैले उठाउने प्रश्न यस्ते यस्तै छन् । तर धेरैले आयोगको परीक्षा उत्तीर्ण गर्न नसक्नुका केही कारण यस्ता छन् । हामीले शिक्षक सेवा आयोगको परीक्षामा किन धेरै पास हुन सकेनन् भनेर तथ्य खोज्दै जाँदा केही कारणहरू यस्तो पायौँ ।
१. स्वाध्यायनमा कामी :
शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटको भर बढी पर्ने र आफैले खोजेर, बुझेर पढ्ने बानी नहुँनु ले नतिजा राम्रो आउन नसकेको देखियो । यसका लागि आफै शैक्षिक सामाग्रीहरू सङ्कलन गरेर स्वाध्यायन गर्ने बानीको विकास गर्न आवश्यक छ ।
२. आधिकारिक स्रोत सामग्रीहरू अध्ययन नगरी बजारमा उपलब्ध भएका जुनसुकै सामाग्रीहरूलाई पनि विश्वास गर्नु :
अहिले शिक्षक सेवा आयोगका परीक्षाहरूलाई केन्द्रित गरेर बजारमा धेरै अध्ययनका लागि सामाग्रीहरू उपलब्ध छन् । जो आयोगको परीक्षामा सफल हुन सकेको छैनन् उसैले वा अनलाईनबाट अरूका सामाग्रीहरू चोरेर, बजारमा चलेका प्रशिक्षकहरूको नाम मात्रै राखेर आफ्नो भन्दै पुस्तक प्रकाशन गरेकाछन् । त्यस्ता सामाग्री धेरै छन् त्यसकारण यस्ता सामाग्रीहरूमा भर परी आधिकारिक स्रोत सामग्रीहरू अध्ययन नगर्दा धेरै पास हुन सकेका छैनन् । आयोगले सोधेको प्रश्नको उत्तरमा हेर्दा सबै सहि लागे जस्तो देखिने तर सहि उत्तर छुट्याउन नसक्ने समस्या धेरैको छ । यसका लागि सरकारी निकायका आधिकारिक स्रोत सामग्रीहरू अध्ययन गर्नुपर्छ । त्यस्ता बजारमा उपलब्ध भएका सामाग्रीहरूलाई पनि विश्वास गर्नु हुँदैन । सकेसम्म आफै खोजेर, सोधेर, बुझेर पढ्ने बानीको विकास गर्नुपर्छ ।
३. शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम अनुसार अध्ययन गर्ने भन्दा हचुवा भरमा पढ्ने :
शिक्षक सेवा आयोगको तयारी गर्ने व्यक्तिहरूले अधिकांशले पाठ्यक्रम राम्रोसँग बुझेर नपढेको पाइएको छ । साथै उनीहरूले पाठ्यक्रम अनुसार आफै अध्ययन गर्ने भन्दा बजारका प्रशिक्षकहरूलाई धेरै विश्वास गर्दा नतिजामा सुधार हुन नसकेको देखिएको छ ।
४. प्रश्न एउटा, पढाउने एउटा र बुझाई फरक :
शिक्षक सेवा आयोगको परीक्षाहरूमा वर्तमान पाठ्यक्रमले सोधेका प्रश्नपत्रमा आइक्यूका चित्रहरू प्रश्नपत्रमा समावेश नगरिनु अर्को कारण देखिएको छ । चित्रहरूलाई कठिनाइ देखाई तयारी कक्षा सेन्टरहरूमा बढी भन्दा बढी कक्षा लिने । चित्रहरूलाई केन्द्रीत गरेर पढाउनु र यसमा पढाउने व्यक्तिहरूले पनि ध्यान नदिँदा सबैको ध्यान चित्रमै केन्द्रीत हुनु । निमाविको लाइसेन्स परीक्षामा पनि शिक्षक सेवा आयोगले कुनै पनि चित्र समावेश गरेको थिएन ।
५. शिक्षण पेडागोजीमा केन्द्रीत नहुनु :
पढ्ने व्यक्ति र विभिन्न सेन्टरहरूमा पढाउने व्यक्तिहरूले शिक्षण पेडागोजीमा केन्द्रीत भएर नपढाई अन्य विषय वस्तुमा बढी जोड् दिनु, आफूले पढाई सकेपछि विद्यार्थी पास हुन्छ भन्ने घमन्ड हुनु र कसरी हुन्छ धेरै विद्यार्थीको सङ्ख्या बढाउने तिर लाग्नु ।
६. प्रशिक्षकले कन्सेप्ट दिन नसक्नु :
पाठकलाई चाहिएको कन्सेप्ट हुन्छ तर प्रशिक्षकले धेरै बाठो भएर पाठ्यक्रम भन्दा बाहिर गएर पढाउने, सकेसम्म पैसाका लागि कक्षाहरू लम्ब्याउने, आफूले पढाएको बाट आयो भन्ने पार्नका लागि धेरै क्षेत्रलाई समावेश गर्ने र पाठकलाई चाहिएको कन्सेप्ट दिन नसक्नुले अलमलमा पर्दा धेरै पास हुन नसकेको देखिएको छ । यो सँगै धेरै प्रशिक्षकहरू निजामती कर्मचारीबाट आएको देखिन्छ । उनीहरूलाई सरकारी दस्ताबेज, तथ्यांक, नीति लगायतका सबै विषयमा पुरै जानकारी हुन्छ भन्ने जस्ता भ्रम पैदा गर्नु ।
७. प्रशिक्षककै अध्ययनमा कमी :
बजारमा रहेका तयारी कक्षा सञ्चालकहरूले सामाजिक सञ्जालमा अनावश्यक विज्ञापन गर्ने र सबैले आफूनै उत्कृष्ट घोषणा गरेको देखिन्छ । तिनैका तयारी कक्षामा आफै पढाउने र पाठकलाई अलमल्याउने धेरैले गर्छन । शिक्षा क्षेत्रमा रहेर काम गरेका यस बारेमा राम्रो बुझेका भन्दा पनि अरू निकाय वा मन्त्रालयमा रहेर काम गरेका, सरकारी नीतिहरूमा र उपलब्ध तथ्यंकहरूमा पनि जानकार नभएका र कक्षा लिनु भन्दा अगाडी मात्रै सम्बन्धीत ठाउबाट जानकारी लिने बानीले गर्दा प्रशिक्षकले कक्षामा गइसकेपछि बिर्सने र हचुवा भरमा पढाउने गर्दा विद्यार्थीलाई समस्या भएको देखिन्छ ।
८. शिक्षा संकाय पढेका विद्यार्थीहरू धेरै फेल :
शिक्षक पेसा आफैमा धेरै आकर्षणको पेसा मानिदैन । धेरैले शिक्षक पेसा छोडेर निजामती कर्मचारीमा प्रवेश गरेको पाइन्छ । विश्वविद्यालयमा समेत अरू विषय पढ्न नपाएपछि मात्रै शिक्षा संकायमा भर्ना लिने, दूरदराज र ग्रामीण क्षेत्रका कलेजहरूमा पनि शिक्षा संकाय मात्रै हुने हुँदा यसले समस्या ल्याएको पाइन्छ । तसर्थ पास भएका मध्येहरूबाट शिक्षक सेवा आयोगको नतिजालाई हेर्दा विज्ञान र गणित पृष्ठभूमि भएका विद्यार्थीहरूको पास सङ्ख्या केही राम्रो छ । तर शिक्षा संकायबाट आएका विद्यार्थीहरूको पास सङ्ख्या कम छ ।



