कन्सोर्टियम–नेपालको अध्यक्षमा सन्तोष महर्जन

काठमाडौं/१० मङ्सिर – बाल सहभागितामा कार्यरत सस्थाहरुको साझा समूह (कन्सोर्टियम–नेपाल) को २४ औं साधारणसभाले सन्तोष महर्जनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको छ ।


महर्जन ‘युवालय’ संस्थामा कार्यरत अधिकारकर्मी हुनुहुन्छ । कार्यसमितिको उपाध्यक्षमा प्रदीप लामिछाने, महासचिवमा अनिता पाण्डे, सचिवमा निरिजना भट्ट र कोषाध्यक्षमा प्रकाश वस्ती यचन हुनुभएको छ । हाल ६६ जिल्लाका गरी ९१ संस्था उक्त सञ्जालमा आबद्ध छन् ।


साधारणसभाको शनिबार उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संंविधानको मौलिक हक र प्रचलित कानुनबमोजिम बालबालिकालाई उनीहरूका सवालमा अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने बताउनुभयो । अध्यक्ष मगरले बाल अधिकारको कार्यान्वयनका लागि सरकारी र गैरसरकारी क्षेत्र मिलेर जानुपर्ने पनि बताए ।


राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्दिरा ढकालले बजेट न्यून भएकोेले बाल अधिकार र नागरिक स्थानका लागि सोचे जति काम गर्न नसकिएको जनाए । परिषद्का पूर्व कार्यकारी निर्देशक मिलन धरेलले बालबालिकालाई अभिभावकले नै बढी समय दिएर उनीहरूको समग्र विकासमा योगदान दिनुपर्नेमा जोड दिए । गैह्रसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले सरकारले बालबालिका क्षेत्रका लागि पर्याप्त लगानी गर्नुपर्ने आग्रह गर्नुभयो ।