सातौं अक्षरा मोडेल युनाइटेड नेसन्स सम्पन्न

काठमाडौँ १० मंसिर अक्षरा स्कुलमा सञ्चालित सातौँ मोडेल युनाइटेड नेसन्स (एमयुएन) सम्पन्न भएको छ । विद्यार्थीलाई कक्षाकोठा र किताबको सीमित दायराबाट बाहिर ल्याई उनीहरूमा भएको खुबी र जीवनोपयोगी सीप विकास गर्ने उद्देश्यले शुक्रबारदेखि सुरु एमयुएन आइतबार औपचारिक कार्यक्रमसँगै सम्पन्न भएको हो ।


‘मोडेल युनाइटेड नेसन्स’ संयुक्त राष्ट्र संघबाट मान्यता प्राप्त एक शैक्षिक मञ्च हो, जसका माध्यमबाट विद्यार्थीले विभिन्न देशका प्रतिनिधिहरूको भूमिकामा रहीती देशको नीति र दृष्टिकोणका साथै वास्तविक विश्वव्यापी समस्या बुझ्ने र तिनको समाधान गर्ने उपाय खोजेर सुझाव दिने गर्दछन् ।


खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा. लेखनाथ शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयकी संस्थापक निर्देशक अन्जु भट्टराईले अक्षरा एमयुएनभावी पुस्तालाई सशक्त बनाउने, कूटनीतिक सीपहरूको पालनपोषण गर्ने र विश्वव्यापी चेतनालाई बढावा दिने प्रमाणको रूपमा रहेको बताइन् । ‘वास्तविक विश्वका कूटनीतिक चुनौती, सांस्कृतिक आदानप्रदान र सञ्जालका लागि एमयुएनले एक प्लेटफर्म प्रदान गरेको छ,’ उनले भनिन् ।


विद्यालयका शैक्षिक निर्देशक विष्णु पनेरुले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि एमयुएन अत्यन्तै उपयोगी भएकाले विद्यालयले विगत सात वर्षदेखि विद्यार्थीबीच गराउँदै आएको जानकारी दिए । साथै उनले बालबालिकामा अन्तराष्ट्रिय सम्बन्धका आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक विषयमा चासो राख्ने, खोजअनुन्धान गर्ने, धारणा राख्ने, तर्क गर्ने, समस्या समाधान गर्ने बानीको विकास गर्ने एउटा उत्कृष्ट अवसर रहेको बताए ।


त्यस्तै प्रिन्सिपल मिलन केसी लोप्चनले एक्काइसौँ शताब्दीसँगै विश्वव्यापीकरणको युगमा विद्यार्थीलाई सबै क्षेत्र र विषयमा आधारभूत ज्ञान दिन आवश्यक रहेको धारणा राखिन् । उनले एमयुएन विद्यार्थीलाई भविष्यमा गएर जुनसुकै क्षेत्रमा पनि समायोजन हुनसक्ने जनशक्तिको आधार बनेको बताइन् ।


कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. शर्माले यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइमा समालोचनात्मक सोचको विकास गर्ने र अनुसन्धान मूलक अध्ययन गर्ने बानीको विकास गर्ने बताए । उनले औद्योगिक क्रान्तिको चौथो चरणमा प्रवेश गरेको विश्व परिवेशमा यस्ता अभ्यासले विद्यार्थीमा अनुसन्धानमूलक एवम् समालोचनात्मक सिप विकास हुने तर्क गरे ।


त्यस्तै युएनका प्रतिनिधि तथा आर्थिक र दिगो विकासका सल्लाहकार सुवास नेपालीले एमयुएन जस्ता बालमैत्री कार्यक्रमले खोज अनुसन्धान गर्ने, कुनै पनि विषय वस्तुको उठान गर्ने र तर्क गर्ने जस्ता सिप विकास गरी भविष्यमा विद्यार्थीलाई सफल योजनाकार तथा कूटनीतिज्ञ बन्न सहयोग गर्ने स्पष्ट पारे ।


मंसिर ८ देखि १० गतेसम्म सञ्चालित कार्यक्रममा विद्यार्थी प्रतिनिधिले आर्थिक तथा वित्तीय मामिला परिषद्, विज्ञान र प्रविधिमा संयुक्त राष्ट्र आयोग, संयुक्त राष्ट्र विकास कार्यक्रम, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम, संयुक्त राष्ट्र मानवअधिकार परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, अन्तर्राष्ट्रिय प्रेस लगायत समिति मार्फत छलफल गरेका थिए । माध्यमिक तहका विद्यार्थी सहभागी सो कार्यक्रमको संयोजन कक्षा १० का विद्यार्थीले गरेका थिए । कार्यक्रममा अक्षरा स्कुल र अन्य विद्यालयका गरी करिब १४० प्रतिनिधिको सहभागिता रहेको थियो ।


विद्यार्थीले सातवटा कमिटी मार्फत अन्तर्राष्ट्रिय जगतमा देखिएका समस्या र तिनको समाधानबारे वादविवाद, वक्तृता, सामूहिक प्रस्तुतिका साथै घोषणापत्र तयार पारी कमिटीका प्रतिनिधिलाई बुझाएका थिए ।


यसै क्रममा आर्थिक तथा वित्तीय मामिला परिषद्बारे छलफल गर्दै विद्यार्थीले कतिपय कमजोर राष्ट्रले गैरकानुनी रुपमा व्यवसाय गरेर आफ्नो आर्थिक अवस्था सुधार गरे पनि युएनको नजरमाती देशको छवि नराम्रो रहेको निष्कर्ष निकालेका थिए । विज्ञान र प्रविधिमा संयुक्त राष्ट्र आयोगको सन्दर्भमा पनि विद्यार्थीले अध्ययन गरेका थिए, जसमा बढ्दै गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विषयमा अध्ययन गरेको बताए ।


त्यस्तै विद्यार्थीले संयुक्त राष्ट्र विकास कार्यक्रम अन्तर्गत दिगो विकासका विषयमा छलफल गर्दै भविष्यमा आउने चुनौतीलाई सामना गर्नका लागि अहिले नै कुनै उपाय निकाल्नुपर्ने निष्कर्ष निकालेका थिए । संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत जीवजन्तुको संरक्षण विषयमा छलफल भएको थियो । विद्यार्थीले स्विट्जरल्यान्ड, स्विडेन लगायत राष्ट्रले पर्यावरण सन्तुलनका लागि गरेको पहल र अरु देशलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको विषयमा अध्ययन गरेका थिए । संयुक्त राष्ट्र मानव अधिकार परिषद्विषयमा पनि विद्यार्थीले छलफल गरे । सामाजिक सञ्जालमा कसरी प्रस्तुत हुने भन्दै इन्डियाले लिंग परिवर्तनलाई लगाएको प्रतिबन्ध विषयमा गहन अध्ययन गरेका थिए ।


त्यस्तै अन्तर्राष्ट्रिय न्यायालय अन्तर्गत कुलभूषण जादबको विषयमा छलफल भयो । नक्कली पासपोर्ट बनाई इरानमा व्यापार गर्ने भारतीय मूलका जादबलाई पाकिस्तान सरकारले आतंकवादी भनेर मृत्युदण्ड दिने निर्णय गरेको थियो, जसमा भारत अन्तराष्ट्रिय अदालत गएको थियो । सो विषयमा विद्यार्थीले चासोका साथ अध्ययन गरे । अन्तर्राष्ट्रिय प्रेस कमिटीमा रहेका विद्यार्थीले अन्य कमिटीमा भएका छलफलबारे रिपोर्टिङ गरेका थिए । यसका साथै बिबिसी, सिएनएन, क्योडो लगायत अन्तर्राष्ट्रिय मिडियाले कसरी समाचार संकलन गर्छन् र विश्वभरि सञ्चार गर्छन् भन्ने विषयमा गहन अध्ययन र छलफल गरेका थिए ।


आइतबार भएको समापन कार्यक्रममा युएन कमिटीका अध्यक्षले कमिटीका उत्कृष्ट तीन प्रतिनिधिलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित सम्मान गरेका थिए ।