मोरङ /१० मंसिर – मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक स्वेच्छिक अवकाश लिएर क्यानडा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँले विद्यार्थीलाई पढाउन थालेका छन् ।
विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएपछि विद्यार्थीको पठनपाठनमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म अध्यक्ष गोविन्द भण्डारीले पढाउन थालेका हुन् ।
शिक्षक भूपराज अधिकारीसँगै उनकी श्रीमती भारती अधिकारी पनि बेलबारी ३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक थिए । उनी पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमान्सँगै वैदेशिक रोजगारीमा गएकी छिन् ।
लामो समय सोही विद्यालयमा अध्यापन गराएका उनी सेवा निवृत्त भएपछि सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएका हुन् । व्यवस्थापन समितिको अध्यक्ष भएपछि पनि विद्यार्थीको पठनपाठनमा कुनै बाधा नपुगोस् भनेर अध्यापन गराएको उनी बताउँछन् ।
शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमका अनुसार स्थानीय पालिका तथा उक्त विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र आएको छैन । शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको उनले बताए ।



