प्लस टु मात्रै गरेर विदेश अध्ययनमा नजाऔँ

काठमाडौँ /२६ असोज – २०८१ सम्म ३० वर्ष भन्दा मुनीका सबै, ३० वर्षदेखि ४० सम्मका ५०५, ४० देखि माथि ऐच्छिक, डिभी र अन्य व्यवस्था मार्फत मान्छे विदेश निकासी गरेर वर्षको १ खरब ५० अरब बराबरको विदेशी मुद्रा निकासी गर्ने लक्ष्य पूरा हुने भएको छ । ती मध्ये अध्यायन गर्न जाने कुल सङ्ख्याको १०५ मात्र अध्ययन गरेर फर्किने लक्ष्य पूरा नहुने भएको छ ।


फर्किनेको सङ्ख्या अति न्यून रहने छ, यसले पनि सकारात्मक सन्देश दिने अपेक्षा छ । यसबाट विदेशी मुद्राको ढुकुटी संरक्षण खर्च घटेर खर्च कटौतीमा मद्दत पुग्नेछ भने मिसन २०८५ मा प्रायः ५० वर्ष माथिकाले मात्रै भोट दिने भएकोले पुराना पार्टीलाई आफ्नो वर्चस्व कायम राख्न सहज हुनेछ भन्ने सरकारको अपेक्षा छ । नयाँ पिँढीले भ्रष्टाचार गर्न नसिकेकै अवस्थामा विदेश पठाइने भएकोले अबको २० वर्ष पछि भ्रष्टाचार शून्य भएर अदुआ खारेज गरिनेछ ।


गैह्र आवासीय नेपालीको ठूलो सङ्ख्याले मतदान गर्ने व्यवस्था गरी उतैको एनआरएनहरूको सरकारमा बाहुलीयता कायम गरि भर्चूअल बैठकबाट पेपरलेस बैठक सम्पन्न गरिनेछ । नेपाली जनतालाई दुःख नहोस भन्ने पवित्र उद्देश्यले भएका उद्योगधन्दाको बन्द गरेर सबै उद्योगीलाई व्यापार गर्न प्रोत्साहित गरिनेछ । नेपालका शैक्षिक संस्थाहरू बन्द गरेर कन्सल्टेन्सी मा परिणत गरेर उता पाउने कमिसनले त्यही देशमै रियल स्टेटमा लगानी गर्ने सबै दलको साझा नीति हुनेछ ।शेयर लगानीलाई अन्तराष्ट्रियकरण गरिनेछ, एक घर तीन विदेशको नीति अवलम्बन गरिनेछ । नेपालका डाक्टरहरूलाई बेलाबेलामा माइतीघर मण्डलामा बोलाएर डन्डी बर्साएर घाइते बनाएपछि तिनको उपचार भारत पठाएर गरिनेछ ।


दशैँको मुखमा सबै दैनिक ज्यालादारी र करार सेवाका कर्मचारीहरूलाई सेवा विमुख बनाइ स्वरोजगार बनाइनेछ । सामुदायिक स्कुलका शिक्षकहरूलाई गीत संगित टिकटक बनाउन प्रोत्साहन गरि बचेखुचेका विद्यार्थीलाई मनोरञ्जन मार्फत शिक्षा दिएर खाडी मुलुक पठाइ रोजगार बनाएर कमाएको विदेशी मुद्रा हुन्डी मार्फत उतै साट्ने सुलभ सटहीको व्यवस्थालाई वैधता दिने सम्बन्धमा एक अध्ययन समिति बनाइनेछ ।


विदेश पढ्न गएका प्लस टु का विद्यार्थीलाई त्यस देशको भाषा सिक्न र बेला बखत यताका नेता जाँदा बस्न घुमाउन पुग्ने पकेट खर्च दिनको लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्नेछ । सकेसम्म मुलुकलाई समृद्ध बनाइनेछ, नागरिक नै कम भएपछि सबै सुखी हुनेछन । व्यापार उद्योग नभएपछि अहिलेको कर संरचनालाई परिवर्तन गरी सानो बनाएर सुस्त दुरुस्त सेवा दिइनेछ । खानी, पानी, पर्यटनको अधिकतम उपयोग गरिदिएर सहयोग गर्न दुई छिमेकी मुलुक मात्रै होइन सार्क मुलुक र युरोप अमेरिकालाई गुहार्ने नीति अवलम्बन गरिनेछ ।


महान जनयुद्ध, बिपीवाद, जनवाद, मधेसी, पहाडी, जनमत, राप्रपा, राजाबादी, पुगेन भने स्वतन्त्र सबैको फ्युजन सरकार बनाएर नमुना विकास गरिनेछ, निकास भने तपाईँ पनि त नागरिक हो खोज्दै गर्नुहोला, एकदिन उता घाटतिर पुगेपछि भेट्न सक्ने प्रबल संभावना छ ।


अन्तमा, प्लस टु मात्र गरेर विदेश नजाऔँ, विदेश गैंहाल्ने हो भने स्कलरसिप पाए जाऔँ, आफ्नो प्यारो बच्चालाई अपरिपक्व अवस्थामा विदेश नपठाउन अभिभावकमा अनुरोध, सरकारलाई स्नातकोत्तर तह र पिएचडीको लागि मात्र एनओसी दिने व्यवस्था मिलाउन अनुरोध । स्नातक तहको अन्तिम वर्ष अनिवार्य इण्टर्नसिपको व्यवस्था सहितको पाठ्यक्रममा जोड दिन प्राज्ञहरूमा अनुरोध । इन्टर्नहरुलाई स्थानीय निकाय मार्फत पारिश्रमिक सहितको काम दिने व्यवस्था गरौँ । खोजेको धेरै छैन, चाहेको धेरै छैन तर गर्ने कसले हो । लेखक गोपिकृष्ण न्यौपाने हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक हुन् ।