एनओसी सम्बन्धी निर्देशिका संशोधन गरिने, दर्ता भएका शैक्षिक परामर्श संस्थाको नविकरण हुने

काठमाडौँ/२३ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका २०७९’ संशोधन गर्ने भएको छ । वैदेशिक अध्ययन अनुमति शाखालाई अनलाइन प्रणालीमा लगेपछि विदेश अध्ययनमा जाने विद्यार्थीलाई केही बुँदामा असहज भएको भन्दै संशोधन गर्न लागेको हो ।


विद्यार्थीले वैदेशिक उच्च शिक्षा अध्ययन अनुमतिका लागि अनलाईन फर्म भर्दा अनलाईनमा मात्रै देखिएको विश्वविद्यालय, शैक्षिक संस्था, कलेज तथा त्यहाँ उपलब्ध भएको संस्थाहरूमा मात्र फर्म भर्नुपर्ने र सूचिमा नभएका शैक्षिक संस्थाको एनओसी नपाउने प्रावधानले विद्यार्थीलाई असहज भएको भन्दै सूचीकृत गर्ने सवालमा सहजीकरण गर्नका लागि केही प्रावधानहरू संशोधन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयको अनलाईन सूचिमा नाम नभएका शैक्षिक संस्थाहरूको एनओसी जारी गर्नका लागि स्वीकृति सम्बन्धी परामर्श समितिले निर्णय गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । जस अनुसार परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धीत देशको शैक्षिक संस्थाका बारेमा बुझेर मात्रै मन्त्रालयले सूचिमा सूचीकृत गर्ने व्यवस्था छ । यो प्रावधानले विद्यार्थीलाई असहज गरेको र गुनासो धेरै आएका कारण सूचीकृत गर्ने सम्बन्धमा सहजिकरण गर्नका लागि संशोधन गर्न लागिएको हो ।


मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखा ९एनओसी० ले गत जेठ १ गतेदेखि विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र विद्यार्थीले घरबाटै लिन सक्ने व्यवस्था गरेको थियो ।


शैक्षिक परामर्श संस्थाको नविकरण हुने :

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ता भएका १४ सय ७२ शैक्षिक परामर्श संस्थाहरूको नविकरण गर्ने तयारी थालेको जनाएको छ । लामो समयदेखि नविकरण विना सञ्चालन गर्न बाध्य भएका शैक्षिक परामर्श संस्थाहरूको नविकरण गर्ने तयारी रहेको जनाएको हो ।


मन्त्रालयले शैक्षिक परामर्श सम्बन्धी नयाँ नियमावली कानुन मन्त्रालयमा रहेको बताउँदै तत्कालका लागि अहिले रहेको निर्देशिका अनुसार नविकरण गर्ने बारे छलफल भइरहेको जनायो । शैक्षिक परामर्श संस्थाहरूको नविकरण नहुँदा राजस्व गुमीरहेको र महालेखाले दबाब दिएपछि नविकरण गर्न छलफलमा जुटेको हो । मन्त्रालयले २०७४ साल यता शैक्षिक परामर्श संस्थाहरू नविकरण गरेको छैन ।