काठमाडौँ /१७ असोज – पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले आफ्नो कार्यकालमा श्री, ॐ जस्ता शब्द हटाउने कुनै निर्णय नभएको स्पष्टोक्ति दिएका छन् । यसबारे सामाजिक सञ्जालमा श्री, ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी गरेको भन्दै हटाउने कुनै निर्णय नभएको स्पष्टोक्ति दिएका हुन ।
उनले मंगलबार विज्ञप्ति जारी गर्दै केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले आफू शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण जानकारी दिँदै यसबारे तत्कालीन समयमा कुनै निर्णय नभएको बताएका छन् ।
वैदिककालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति :
प्रेस विज्ञप्ति
केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन । वैदिककालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।
सङ्घीयता विरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै संवेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गर्दछु ।
दीनानाथ शर्मा
पूर्व शिक्षामन्त्री
मिति २०८० असोज १६



