काठमाडौँ/१६ असोज – भ्याली पब्लिक माध्यमिक विद्यालय र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन संकायको संयुक्त प्रयासमा शिक्षक तालिम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रथम सत्र अन्तर्गत सहजकर्ता रेजीना केसीले सूक्ष्म सांगितिक योगको अभ्यास मार्फत उपस्थित शिक्षकलाई तालिमका लागि रहन अभिप्रेरित गर्दै प्रशिक्षण हुने विषय “ २१ औँ शताब्दीको पेडागोजीमा कक्षा कोठामा लेसन प्लान र क्रियाकलाप“ माथि प्रकाश पारेकी थिइन । उनले शिक्षणका परिघटना विश्वव्यापीकरणकै शैलीमा परिमार्जित र रूपान्तरित हुँदै गरेकाले हामी शिक्षकले आफूलाई हरदम पठनपाठन कला र शैलीमा हरदम परिमार्जन र समयानुकूल रूपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिइन । साथै तालिम सत्रलाई उर्जापूर्ण बनाइ राख्नका लागि शिक्षकलाई अध्ययन सामाग्री प्रदान गर्दै अन्तरक्रियाको प्रक्रियालाई सजीव अभ्यास मार्फत प्रयोग गरेकी थिइन ।
केसीले २१ औँ शताब्दीमा विश्वव्यापीरूपमा शिक्षण सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने विविध विधि तथा प्रकारका बारेमा वित्तीय, प्रिन्ट तथा व्याख्यात्मक टिप्पणीका साथ सहज र सरल शैलीमा उपस्थित शिक्षकहरूलाई सहजीकरण गरेकी थिइन । २१ औँ शताब्दीका शिक्षण सिकाइका अवयवहरूलाई शिक्षकले आफ्नो पेसागत जीवनसँग साक्षात् गर्दा मात्र उहाँहरूको वैयक्तिक, पेसागत, सामाजिक तथा विश्वव्यापी स्तरमा वृत्ति विकासको ढोका सदा खुल्ला राख्न मद्दत पुग्ने उनको भनाई थियो ।
त्यसैगरी कार्यक्रमको दोस्रो सत्र अन्तर्गत सहजकर्ता कृष्ण खतिवडाले सहभागी शिक्षकहरूलाई विभिन्न ५ समूहमा विभाजन गरी जल चक्रको बारेमा सहभागी शिक्षकहरूको तर्फबाट आफ्नो कार्यको प्रस्तुति गर्न लगाएका थिए । जल चक्रका बारेमा कथात्मक, नाटकीय, व्याख्यात्मक कवितात्मक शैलीमा प्रस्तुति गरिएको थियो ।
अन्तमा सहजकर्ताहरूबाट रिफ्लेक्सन फाराम उपलब्ध गराई समग्र शिक्षकको बुझाई र प्राप्तिलाई मापन गर्ने प्रयास गरिएको थियो । कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उपस्थित शिक्षकको तर्फबाट विज्ञान विषयका प्रमुख शिवहरि बास्ताकोटीले तालिम मार्फत प्रदान गरिएको ज्ञान र कौसललाई प्रभावकारी ढंगले कक्षा कोठामा प्रयोग गर्नका लागि सदैव विद्यालय प्रशासन, शिक्षक समूह तथा विद्यार्थीहरू क्रियाशील रहनु पर्ने तथ्य औँल्याए ।
त्यस्तै विद्यालयका सहायक प्राचार्यले शिक्षक तथा सहजकर्ताहरूलाई दिँदै उपलब्ध साधन श्रोत र ज्ञानको भरपुर प्रयोगका माध्यमबाट मात्र शिक्षकको नैतिक तथा शैक्षणिक सामर्थ्य सबल रहने बताए । कार्यक्रममा ५५ जना शिक्षकहरूको सहभागिताका रहेको थियो ।



