राहात तथा अन्य शिक्षक व्यवस्थापनको मध्यमार्गी बाटो

पर्वत/१० असोज-नेपाल सरकारले २०८० भाद्र २७ गते विद्यालय कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विद्यालय शिक्षा ऐन, २०८० संसदमा दर्ता गर्यो । शिक्षा विधेयकमा ल्याउन शिक्षासँग सम्बन्धित सरोकारवाला र विज्ञहरूसँग व्यापक छलफल नगरेको जस्तो देखिन्छ । त्यसैले शिक्षक, अभिभावक, शिक्षासँग सम्बन्धित संघ संस्थाहरू, शिक्षाविद्, राजनीतिक दल आदिले ऐनका केही प्रावधानहरूमा विमति राखेका छन । मुख्यगरी राहत शिक्षकको व्यवस्थापन पेचिलो विषय बन्न पुगेको छ ।


शिक्षक महासङ्घले विधेयकमा आपत्ति जनाउँदै २०८० असोज ३ गते आन्दोलनको घोषणा गर्यो र विधेयकलाई सहि निर्णय नभएको भन्दै देशभरबाट शिक्षकहरू राजधानी केन्द्रीत भई शिक्षक महासङ्घले आह्वान गरेको कार्यक्रममा सहभागी भए । सरकार र शिक्षक महासंघबिच २०८० असोज ५ गते भएको सहमतिमा सीमित प्रतिस्पर्धाको लागि ७ सय ५५ कोटा अस्थायी प्रकृतिका सबै शिक्षकलाई ,उमावि, राहत, अनुदान, प्राविधिक धार, छुट अस्थायी करार, विशेष शिक्षकलाई छुट्याइनेछ भनेर उल्लेख गरिएको छ ।


अर्को पक्षले शिक्षक महासङ्घले धोका दिएको र सो सहमतिले शिक्षकका मागहरू सम्बोधन नभएको भनी तर्क गरेको पाइन्छ । सरकारले आन्दोलन गर्ने सम्पूर्ण पक्षलाई ध्यान दिनुभन्दा नेपालको शिक्षाक्षेत्रको विकास गर्न र शिक्षाको गुणस्तर अभिवृद्धिलाई ध्यान दिएर निर्णय गनुपर्ने देखिन्छ । मेरो विचारमा राहत तथा अन्य शिक्षाको व्यवस्थापन निम्न बमोजिम गर्न सकिन्छ ।


विकल्प १


पाँच वर्ष भन्दा बढि समय देखि कार्यरत सम्पूर्ण शिक्षकलाई एक पटकका लागि सीमित प्रतिस्पर्धाको आधारमा परीक्षामा सहभागी गराउने र असफल हुनेलाई ससम्मान सेवाअवधिको आधारमा गोल्डेन ह्यान्डसेक प्रदान गर्ने । पाँच र सो भन्दा कम वर्ष कार्यरत शिक्षकलाई एक पटकको लागि उमेरहद नलाग्ने व्यवस्था गर्ने र असफल हुनेलाई सम्मान सहित विदाई गर्ने ।


विकल्प २


पाँच वर्ष भन्दा बढि समय देखि कार्यरत सबै प्रकारका राहात शिक्षकलाई दरबन्दीमा परिणत गर्ने र यसरी परिवर्तन भएको दरबन्दीमा कार्यरत शिक्षकलाई ६० वर्षसम्म कार्यरत रहन दिने र त्यसपछि गोल्डेन ह्यान्डसेक प्रदान गर्ने । यदि बिचमानै सो दरबन्दी खालिहुने अवस्था आएमा सो दरबन्दी, अन्य दरबन्दी सरह आयोगले पदपूर्ति गर्ने । पाँच वर्ष भन्दा कम र अन्य कार्यरत शिक्षकलाई एक पटकको लागि उमेरको हदबन्दी नलाग्ने व्यवस्था गर्ने र असफल भएका शिक्षकलाई सम्मान सहित विदाई गर्ने ।


आन्दोलन गर्दै स्थायी हुने परिपाटी बसाल्नु शिक्षा क्षेत्रका लागि घातक हुनसक्छ । प्रतिशतनै तोकेर सिमीत प्रतिस्पर्धाबाट स्थायी गर्दा शिक्षक हुनकै लागि तयारी गरिरहेका नयाँ पुस्ता अवसरबाट हुने साथै शिक्षा क्षेत्रमा दक्ष र गुणस्तरीय शिक्षक भित्र्याउन सकिँदैन । त्यसैगरी धेरै वर्षसम्म माथिल्लो तहमा कार्यरत रही गएका वर्षहरूमा स्थायित्वको लागि तल्लो तहमा नियुक्त लिने शिक्षकलाई पनि आघात पर्छ । लेखक तीर्थ राज भट्ट, महेन्द्र मा.वि. मोदी ५, पर्वतका शिक्षक हुन् ।