काठमाडौँ /९ असोज-शिक्षकको पेसागत दक्षता अभिवृद्धि तालिम गर्दै आएको गोदावरी आवासीय विद्यालयले पछिल्लो पटक सोधखोजमा आधारित तालिम सञ्चालन गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँगको सहकार्यमा निरन्तर शिक्षकहरूको क्षमता अभिवृद्धि अन्तर्गत विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेको हो ।
सोधखोजमा आधारित शिक्षण विधिले विद्यार्थीहरूलाई अध्ययन, अनुसन्धान तथा दिइएको सूचनाको खोजीगर्न र विद्यार्थीहरूलाई प्रेरित गर्ने भएका कारणले शिक्षकहरूलाई यसबारे तालिम सञ्चालन गरिएको विद्यालयले जानकारी दियो । यस विधि अन्तर्गत शिक्षकद्वारा निर्देशन र सहजीकरण मात्र गरिने हुँदा विद्यार्थी स्वयम् अनुसन्धानमा संलग्न भई समस्या समाधानका लागि खोजी गर्ने गर्छन् । विद्यार्थीहरूमा उत्सुकता जगाइ ज्ञानसँग सम्बन्धीत अनुभवको अनुभूति गराउनु नै यस शिक्षण विधिको आशय रहेको छ ।
साथै विषय वस्तुसँग सम्बन्धीत वास्तविक सत्यता वा समाधान प्राप्त गर्न प्रश्नहररू सोध्ने र त्यसैमा आधारित रहेर अनुसन्धान गर्न विद्यार्थीलाई उत्प्रेरित गराउनुपर्ने बारे शिक्षकहरूलाई तालिममा जानकारी गराइएको थियो । सोधखोज विधिका विभिन्न स्वरूप र सिद्धान्त रहेको र संलग्नता, अन्वेषण, व्याख्या, विस्तार र मूल्याङ्कनसँग सम्बन्धीत सोधखोजमा आधारित शैक्षणिक नमुनाको समेत जानकारी गराइएको थियो ।
शिक्षकले विद्यार्थीको पूर्व ज्ञानलाई अन्वेषणसँग जोड्दै व्याख्याको माध्यमबाट वास्तविक जीवनको धरातलमा गएर मात्र मूल्याङ्कन सम्भव हुन्छ भन्ने यस विधिको महत्वपूर्ण पक्ष हो । अन्तमा शिक्षकहरू विषयगत रूपमा विभिन्न समूहमा विभाजन भई सम्बन्धीत विषयमा आधारित शीर्षकलाई सोधखोजमा आधारित सिकाइको नमुना तयार पारेका थिए ।



