हब इन्टरनेशनल एजुकेसनको प्रायोजकमा ‘एपेक्स आइसिसी कप’ प्रतियोगिता हुने

काठमाडौं/६ असोज-आउँदो आइतबार अर्थात् २४ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म एपेक्स आइसिसी कप–२०२३ अन्तर–कलेज क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता एपेक्स कलेजको आयोजनामा मूलपानीस्थित पवित्र क्रिकेट मैदानमा हुन लागेको हो ।


नेपालको पहिलो अन्तर–कलेज क्रिकेट प्रतियोगिताको कूल पुरस्कार राशि २ लाख २५ हजार छुट्याइएको छ । जसमध्ये विजेता टिमले १ लाख ५० हजार, उपविजेता टिमले ७५ हजार र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


यस्तै, व्यक्तिगत प्रतिभाको कदरस्वरूप उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही १० हजार र प्लेयर अफ दी सिरीज १५ हजार बराबरको नगद तथा पुरस्कार पाउनेछन् । त्यसैगरी, प्रत्येक खेलको म्यान अफ दी म्याचले २५ हजार नगद पुरस्कार र प्रशंसापत्र पाउनेछन् ।


कार्यक्रमको मुख्य प्रायोजकमा हब इन्टरनेशनल एजुकेसन रहेको छ । हबले ‘प्रतिभा विकास र खेलकुदका लागि एक सच्चा अधिवक्ता’ भन्ने मूल नाराका साथ प्रतियोगिताको प्रायोजन गरेको हो । यस्तै, अटोमोबाइल क्षेत्रको प्रख्यात होन्डा कम्पनीले यस प्रतियोगिताको सञ्चालन गर्नेछ ।


हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष उद्धव खड्काले यस प्रतियोगिताको हिस्सेदार हुन पाउँदा खुसी लागेको बताए । उनले विद्यार्थीको अध्ययनसँगै उनीहरूलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउँदा सकारात्मक ऊर्जा दिनुका साथै क्रिकेटमा दक्ष खेलाडी उत्पादनमा पनि टेवा पुग्ने बताए ।


यस्तै, प्रतियोगिताकी म्यानेजर अस्मिता पौडेलले यस प्रतियोगिताले विद्यार्थीलाई क्रिकेटमा अझ अगाडि बढ्न हौसला प्रदान गर्ने बताइन् । सिमलेस फाइनान्सियल समाधानस्वरूप आइएमइ पे प्रतियोगिताको सहयोगी साझेदारको रूपमा रहेको छ भने प्राविधिक साझेदारको रूपमा बागमती क्रिकेट संघ, पर्यटन साझेदारको रूपमा सस्तो टिकट, फुड एण्ड वेभरेज साझेदारको रूपमा याचुला र सिनेमा साझेदारको रूपमा एनआइएन सिमोजले मैदानबाहिर मनोरञ्जनको ऊर्जा थप्नेछन् ।


प्रतियोगितामा एस इन्स्टिट्युट अफ म्यानेजमेन्ट, स्लिङटन कलेज, आस्था कलेज अफ म्यानेजमेन्ट, शिक्षान्तर कलेज, कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी, काठमाडौं स्कूल अफ ल, काठमाडौं विश्वविद्यालय, लिभरपुल इन्टरनेशनल कलेन, थेम्स कलेज, रेम्बो इनटरनेशनल कलेज, सेन्ट जेभियर कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, रत्न राज्यलक्ष्मी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, एपेक्स कलेज र ब्लूबर्ड कलेजले भाग लिने छन् ।