हाम्रो यात्रा निरन्तर जारी छ …

काठमाडौं/६ असोज-समृद्ध एड मिडिया नेटवर्क द्वारा सञ्चालित खबर एजुकेशन अनलाईन, एजुकेशन न्युज पाक्षिक पत्रिका र स्कुल खबर मासिक पत्रिका आफ्नो यात्राको १२ औँ वर्ष पुरा गरेर १३ औँ वर्षमा प्रवेश गरेको यो सुखद अवसर यहाँहरू समक्ष साट्न पाउँदा हामी हर्षित भएका छौँ । हामीले शिक्षा क्षेत्रलाई मात्रै बिट बनाएर पत्रकारीता गर्न सकिन्छ भन्ने आशाका साथ यो यात्रा तय गरेको १२ वर्ष पुरा भएर १३ वर्षमा प्रवेश गरेको छ । हामी जुन उदेश्यका साथ यस क्षेत्रमा प्रस्थान गरेका थियौँ त्यस तर्फ हाम्रो यात्रा निरन्तर छ, र रहीरहने छ । हाम्रा लागि शिक्षा क्षेत्रमा मात्रै कलम चलाउनु त्यति सहज थिएन । शिक्षा क्षेत्र व्यावसायिक भन्दा पनि सेवामूलक क्षेत्र भएका कारण आफैमा धेरै चुनौती भएको क्षेत्र हो ।


स्वदेशका शिक्षालयहरू प्रति विद्यार्थीको आकर्षण घट्दै गइरहेको अवस्थामा शिक्षा क्षेत्रमा देखिएका कमीकमजोरीहरूलाई औँल्याउँदै स्वदेश मै उत्कृष्ट शिक्षाको सम्भावना र चुनौती बारे निरन्तर जानकारी दिँदै खबरदारी गर्नु हाम्रो दायित्व ठानेका छौँ । साथै विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय कर्मचारीहरूको आवाज बनेर बोल्नु हाम्रो धर्म मानेका छौँ ।


यो सवालमा समाचार प्रकाशन, सरोकारवालाहरूसँग अन्तरक्रिया र राजनीतिकहरूसँग निरन्तर बहसमा यस मिडियाले विभिन्न विषय वस्तु उठान गरिरहेको छ । हामीले लेखेनौँ मात्रै, शिक्षा क्षेत्रमा देखिएका सकारात्मक, नकरात्मकपक्ष तथा नीतिगत सवालमा सरोकारवालाहरूलाई सुसूचित गर्दै खबरदारी गर्नका लागि प्रत्यक्ष सहभागीतामा विभिन्न क्षेत्रका व्यक्तिहरू सहित छलफल गर्दै आएका छौँ । जसका कारणले यस क्षेत्रलाई व्यवस्थित गर्न स्तरीय बनाउन सहयोग पुगेको महसुस भएको छ ।


यसै त शिक्षा क्षेत्रको पत्रकारीता कठिन छ त्यसमाथी विभिन्न प्रकोपहरूले यस क्षेत्रलाई सबै भन्दा छिटो प्रभाव पार्छ । भूकम्प देखि कोभिड १९ ले यस क्षेत्रलाई पटक पटक ठुलो असर गर्यौ । यस्ता प्रकोपले हाम्रा लागि झन चुनौती थपिदिएको हामीले अनुभव गर्यौ । नेपालमा मूलधारका मिडियाहरूलाई समेत कोभिड १९ ले असर गरिरहँदा हामी अक्षुतो रहने कुरै भएन । कोभिड १९ को असर शिक्षा क्षेत्रमा सबै भन्दा धेरै र बढी क्षति भएको क्षेत्र हो । सम्पूर्ण विद्यालय, विश्वविद्यालय तथा विभिन्न शिक्षालयहरूको पठनपाठनदेखि परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमा हुन सकेन र राज्य समेत कसरी यसलाई सञ्चालन गर्नै अलमलमा परिरहेको बेला हामीले शिक्षाविद् र यससँग सरोकार राख्ने विभिन्न विज्ञहरूसँग अनलाइन मार्फत खबर एजुकेशन बहस लाइभ सञ्चालन गरेर सुसूचित गर्ने र सहज बनाउने प्रयासमा निरन्तर लाग्यौँ ।


एजुकेशन न्युजको यो विशेष अंकमा विज्ञहरूका विचार, शिक्षा क्षेत्रमा काम गर्दाको अनुभव, विद्यालय शिक्षा लगायत शिक्षाको वर्तमान अवस्था र आगामी चुनौतीका बारेमा लेख समावेश गरिएको छ । लेखमा समावेश गरिएका विषय वस्तुका मुख्य अंशबाट आगामी दिनमा विभिन्न सरोकारवाला, सरकार, राजनीतिक दलहरूसँग छलफल गर्ने प्रयास रहने छ । साथै ती विषयहरूलाई खबर एजुकेशन अनलाइन मार्फत प्रकाशन र प्रसारण गरिने छ ।


लगातारको खबरदारी, अन्तरक्रिया र बहसका कारण प्राथमिकतामा नराख्ने राजनीतिक दलहरूले निर्वाचनको समयमा आफ्ना घोषणा पत्रहरूमा शिक्षा क्षेत्रलाई विशेष स्थान दिँदै प्रतिबद्धता जाहेर गरेका छन् । उनीहरूले घोषणा पत्रमा जारी गरेका प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउनका लागि निरन्तर खबरदारी आवश्यक छ । यसका लागि मिडिया सँगसँगै सबै सरोकारवालाहरू लाग्नु पर्ने आवश्यक देखिन्छ ।


यो सँगै निजी विद्यालयहरू र सामुदायिक विद्यालयमा शिक्षण विधिको आदान प्रदान हुनुपर्छ भन्दै विभिन्न स्थानीय तहहरूमा कार्यशाला र छलफल कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । सरकाले विद्यालय शिक्षा निःशुल्क भनेपनि अन्तरराष्ट्रिय प्रतिबद्धता अनुसार कुल बजेटको २० प्रतिशत बजेट छुट्याउन नसकेको वर्तमान अवस्थामा निजी र सामुदायिक विद्यालयबिचको विभेद हटाएर साझेदारी मोडेलमा अगाडी बढ्नु राज्यको हितमा हुने महसुस गरेका छौँ । विद्यार्थीहरूलाई गुणस्तरीय र व्यवहारिक शिक्षा दिइ दक्ष जनशक्ति उत्पादनका लागि निजी र सामुदायिक विद्यालयबिचमा शिक्षण सिकाईलाई आदान प्रदान गर्न आवश्यक छ ।


त्यसैगरी शैक्षिक परामर्श क्षेत्रमा देखिएका विकृतिहरूलाई तत्काल नियमन गर्न आवश्यक छ । शिक्षा मन्त्रालयले नविकरण नगरिदिँदा केही शैक्षिक परामर्श संस्थाहरू दर्ता भएरपनि नविकरण विना सञ्चालन गर्न बाध्यछन् भने विना अनुमति सञ्चालनमा ल्याएर विद्यार्थीलाई विदेश अध्ययनमा पठाउने शैक्षिक परामर्श संस्थाहरूको सङ्ख्या उल्लेख्य छ । यसलाई राज्यले नियमन गरी गुणस्तरीय परामर्श दिन सक्ने वातावरण निर्माण गर्नु सक्नुपर्छ ।


अत, यहाँहरूको माया, सुझाव र हौसलाले शिक्षा क्षेत्रमा अझै सशक्त रूपमा कलम चलाउन उर्जा थपिएको छ र यसलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता सबै समक्ष गर्न चाहान्छौँ । नेपालको सन्दर्भमा तटस्थ रहेर कलम चलाउनु हाम्रा लागि चुनौती थियो । तर, हाम्रो १२ वर्षको यात्रासम्म आइपुग्दा कतै कुनै कारणले डगमगाएनौँ र हामी निरन्तर यथार्थ परक, सत्य, खोजमूलक समाचार सम्पे्रशण गर्दै आयौँ । जसले गर्दा आज १२ वर्ष पुरा गरी १३ वर्षमा प्रवेश गर्न सफल भएका छौँ । आशा छ यहाँहरूको साथ अरू धरै धरै वर्षसम्म रहीरहने छ र यहाँहरूले गरेको विश्वास टुट्न दिने छैनौँ ।


अन्तमा आफ्नो यात्राको १२ औँ वर्ष पुरा गरी १३ औँ वर्षमा प्रवेश गर्दै गर्दा हाम्रो एकल प्रयासले मात्रै सम्भव भएको होइन । तसर्थ यहाँसम्म आउनका लागि सहयोग गर्नुने सम्पूर्ण पाठक, शिक्षाविद्, शिक्षक, राजनीतिक दल, विश्वविद्यालय, कलेज, स्कुल, शैक्षिक परामर्श संस्था, विद्यार्थी, शिक्षा मन्त्रालय, अभिभावक लगायत प्रत्यक्ष र अप्रत्यक्ष हामीसँग जोडिनु भएका सम्पूर्णलाई धन्यवाद दिन चाहान्छौँ ।