युवराज रेग्मी
काठमाडौं/३ असोज-प्रस्तावित शिक्षा बिधेयक २०८० विरुद्ध आन्दोलित बनेका देशभरका शिक्षकहरु शिक्षक महासंघको आह्वानमा ठुलो संख्यामा आन्दोलनका लागी राजधानी भित्रिएका छन । काठमाडौ बाहिरी जिल्लाहरुबाट मंगलबार बिहानैदेखि हजारौंको संख्यामा शिक्षकहरु काठमाडौ भित्रिएको महासंघले जनाएको हो ।
साथै शिक्षक र शिक्षा सम्बन्धि मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार समेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार दिउँसो तीन बजेका लागि वार्तामा बोलाए पनि शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नभएको महासंघले जनाएको छ ।
महासंघ सह–अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले प्रधानमन्त्री तथा व्यवस्थापिकाले बोलाएको वार्तामा मात्र आफुहरुजाने बताइन ।
विधेयक संसदमा दर्ता भइसकेको अवस्थामा मन्त्रालयको अधिन बाहिर गएको ठहर गर्दै मन्त्रालयसँग वार्तामा जानुको औचित्य नरहेको महासंघको ठहर छ । महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै आज बुधबार देखि काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको छ । त्यसका लागि जिल्ला जिल्लाबाट शिक्षक कर्मचारीहरू काठमाडौँ आइसकेका छन् ।
पटक पटक सरकारसँग सहमति र वार्तामा बसेको तर विधेयक शिक्षक कर्मचारीहरूलाई मर्का पर्नेगरी आएको महासंघको आरोप छ । महासंघले हालको विधेयकमा संशोधन गर्नुपर्ने विभिन्न १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरू रहेका छन् ।
महासंघलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन सरकारले आह्वान गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन समेत गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा सरकारले शिक्षामन्त्रीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । तर, महासंघले शिक्षामन्त्रीसँग वार्ता गर्न अस्वीकार गरेको छ ।
यसैबीच शिक्षा मन्त्री राईले भने आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्नशील रहेको बताएका छन् । मंगलवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत गुनासो समेट्ने प्रयत्न गरिने बताएका हुन् ।



