काठमाडौं/२ असोज-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम खुला गरेको छ । प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा दोस्रो र तेस्रो वर्षको विभिन्न कार्यक्रमहरुको परीक्षा आवेदन खुला गरेको हो ।
परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, होमियोप्याथी, सामान्य चिकित्सा आयुर्वेद, अकुपन्चर, डेन्टल साइन्स (डेन्टल हाइजिन), अप्थाल्मिक साइन्स, कृषि (बाली विज्ञान र पशु विज्ञान), फार्मेसी, फिजियोथेरापी, योग एन्ड नेचुरोपेथी, फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा दोस्रो र तेस्रो वर्षको आंशिक एवं डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि (बाली विज्ञान र पशु विज्ञान) प्रथम वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परीक्षाका लागि परीक्षा फाराम भरी बुझाउन भनिएको छ ।
परीक्षा मङ्सिर महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम यही असोज २२ गतेभित्र नियमित शुल्कमा र असोज २९ गतेभित्र विलम्ब शुल्कमा बुझाउनु पर्ने छ ।
साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम, लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गत डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ (स्पेसलाइजेसन इन हाइड्रोपावर), अटोमोबाइल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ, इन्फर्मेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा कृषि (बाली विज्ञान र पशु विज्ञान) कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्डको नियमित र वार्षिक परीक्षा प्रणालीका अन्तर्गतका सामान्य चिकित्सा, नर्सिङ, फिजियोथेरापी, फार्मेसी, कृषि (बाली विज्ञान र पशु विज्ञान) र फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा दोस्रो एवं तेस्रो वर्षको आंशिक परीक्षा समेत सोही समयमा सञ्चालन हुने भएकाले उक्त निर्धारण गरेको समयमा आवेदन फाराम भर्नु भराउनुहुन अनुरोध गरेको छ ।



