ऐनमा शिक्षकले उठाएका धेरै माग समावेश गरिएको छ : शिक्षा सचिव

काठमाडौं/२२ भदौं-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले भदौं २४ गते संघीय शिक्षा ऐन संसदमा पेश गर्ने तयारी भईरहेको बताएका छन् । आज मन्त्रालयमा शिक्षक संगठनहरुसँगको भेटमा संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० बिहिबार बसेको मन्त्रिपरिषद बैठकले संसदमा पेश गर्ने निर्णय गरेसँगै भदौं २४ गते संसदमा पेश गर्ने तयारी भईरहेको बताएका हुन् ।


भेटघाटमा उनले नेपाल शिक्षक महासंघले उठाएका धेरै मागहरु समावेशगरी संघीय शिक्षा ऐन सदनमा पेश गर्न लागिएको बताउँदै विद्यालय कर्मचारी, राहत शिक्षक, बालविकास शिक्षकका समस्याहरु समाधानका लागि क्रमश दरबन्दीमा लैजाने बताएका छन् ।


साथै विद्यालय कर्मचारीलाई प्रकृति हेरेर दरबन्दीमा समायोजन गरीने, राहत शिक्षकलाई विभिन्न प्रक्रियाबाट तत्काल ५० प्रतिशत दरबन्दीमा लैजाने, बालविकास शिक्षकहरुको हकमा संघीय सरकारले रकम उपलब्ध गराउने गरी स्थनीय तहले दरबन्दीको व्यवस्था गर्ने र शिक्षकहरुको ट्रेड युनियन रहने बताएका छन् ।


अधिकारीले ऐन सदनमा पेश भईसकेपछि ७२ घण्टाको समय अवधि रहने र ऐनमा चित्त नबुझेका कुुरालाई राजनीतिक दलहरुसँग उच्च छलफल गर्न सकिने समेत बताएका छन् ।