सरकारले गरेका प्रतिबद्धता कार्यन्वयनमा नआए ‘सत्याग्रह’ सुरु गर्ने डा. केसीको घोषणा

काठमाडौं/१५ भदौ-डा. गोविन्द केसीले सरकारका तर्फबाट गरिएका प्रतिबद्धताहरु कार्यन्वयन नभएमा भदौं २९ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । विभिन्न मागहरु राखेर साउन २९ गतेबाट सत्याग्रह सुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेको र प्रतिबद्धताहरु कार्यन्वयन नभएमा भदौं २९ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

त्यसैगरी डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि आवेदन दिएका केही व्यक्ति गम्भीर अनियमिततामा मुछिएका, प्रतिष्ठान सञ्चालन गर्दा भ्रष्ट र असफल प्रमाणित पनि रहेको भन्दै स्वार्थको द्वन्द्व नभएका योग्य उम्मेदवार मात्र छनोट गर्न सरकारलाई आग्रह गरेका छन् ।


उनले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘चिकित्सा शिक्षा आयोग स्थापनापछिको पहिलो चारवर्षे अवधिमा अनेक खाले राजनीतिक हस्तक्षेप, पदाधिकारीहरुमाथिको आपराधिक गुण्डागर्दी र अवरोधका बाबजुद आयोगले चिकित्सा शिक्षा सुधारमा उल्लेख्य काम गर्न तथा आयोगको स्वायत्तता कायम राख्न सफल भएको छ । अब आएर भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्ति उपाध्यक्ष बनेमा ती सबै उपलब्धि उल्टिने जोखिम छ । त्यस्ता उमेदवार पदाधिकारीका रुपमा छानिएमा त्यसले चिकित्सा शिक्षा ऐनको परिकल्पना विपरीत नेपालको मेडिकल शिक्षालाई गुणस्तरहीन र धराशायी बनाउने जोखिम रहेको छ ।’


‘त्यसैले त्यस्ता उमेदवारहरुको सम्पूर्ण पृष्ठभूमि बुझेर आवेदन दिएकामध्ये इमान्दार छवि र अब्बल कार्यक्षमता भएका तथा कुनै स्वार्थको द्वन्द्व नभएका योग्यतम उमेदवारहरु मात्रै छनोट गर्न र तिनमध्येबाट उपाध्यक्षको नियुक्ति गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं’, विज्ञप्तिमा उल्लेख छ ।