शिक्षामा समानता र समावेशीकरणका लागि साझेदारी

काभ्रे ९ भदौं – डिजिटल लर्निङ रिसर्च ल्याब (डीएलआर ल्याब), स्कुल अफ इन्जिनियरिङ, काठमाडौं विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनको निरन्तरता तथा व्यावसायिक शिक्षा केन्द्र (सीपीईसी) एकाइबीच साझेदारीपत्रमा हस्ताक्षर गरका छन् । शिक्षाको उन्नतिका लागि, शैक्षिक परिदृश्यलाई पुन : आकार दिने र शिक्षाको दायरा विस्तार गर्ने उदेश्यले साझेदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।


शिक्षालाई अझ सुलभ र प्रभावकारी बनाउनु यस सहकार्यको मुख्य लक्ष्य रहेको विश्वविद्यालयले जनाएको छ । डिजिटल लर्निङ रिसर्च ल्याबबाट तयार पारिएका पाठ्यक्रमहरू, डिजिटल शिक्षाका लागि अत्याधुनिक दृष्टिकोण धेरै व्यक्तिहरु समक्ष पहुँच योग्य हुने र पाठ्यक्रमहरू धेरै सरोकारवालाहरूलाई उपलब्ध गराइनेछ ।


त्यसैगरी सीपीईसीले विगत लामो समयदेखि देशका विभिन्न क्षेत्रहरुमा रहेका समुदायमा आधारित संस्थाहरू र स्थानीय अधिकारीहरूसँग सहकार्य गरेर शिक्षाका विभिन्न तहमा परिवर्तन ल्याउन सक्ने शिक्षक र शैक्षिक प्रतिनिधिहरुलाई तालिमको माध्यमबाट मद्दत गर्ने काम गरिरहेको छ ।


नेपाल सरकारले विद्यालयमा समावेशीकरण सम्बन्धी नीति ल्याएको तर, शिक्षामा समानता हासिल गर्नका लागि नीतिगत प्रयासहरू मात्र पर्याप्त नभएकोले विद्यालय र स्थानीय तहमा थप पहल गर्न काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विद्यालयहरूमा समता र समावेशीकरणसँग सम्बन्धित बुझाई र अभ्यासमा सुधारगर्ने कोर्ष (पाठ्यक्रम) तयार पारेको जनाएको छ ।


काठमाडौं विश्वविद्यालय, डिजिटल लर्निङ रिसर्च ल्याबले जिपिई केआईएक्स अन्तर्गत समता र समावेशीता तर्फ प्रशिक्षकहरु परियोजनाको लागि तयार गरेको छ । यो परियोजनाले अफगानिस्तान, नेपाल र पाकिस्तानका साझेदारहरू मार्फत शिक्षकहरूसँग काम गरिरहेको छ । यद्यपि, यो सहयोग पाठ्यक्रमहरूको वितरण भन्दा बाहिर जानेछ ।


सीपीईसी एकाई र डिजिटल लर्निङ रिसर्च ल्याबबीचको संयुक्त अनुसन्धान परियोजनामा ठूलो सम्भावना रहेको र दुई संस्थाहरूले संयुक्त रुपमा शिक्षामा परिवर्तनका लागि अनुसन्धान पहलहरूको नेतृत्व गर्ने तयारी गरिरहेका छन् ।


काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुइटेलको उपस्थितिमा सीपीईसी कार्यक्रम कासंयोजक डा. पार्वती ढुंगाना र डिजिटल लर्निङ रिसर्च ल्याब इन्चार्ज डा. सुशील श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।