काठमाडौं/४ भदौं-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विदा स्विकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थिति हुने शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । शिक्षा विकास तथा समन्वय इकाईबाट विदा स्विकृत नगराई लामो समयसम्म विद्यालयमा अनुपस्थिति शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको हो ।
विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दा समेत जवाफ नदिने, सम्पर्कमा नआउने, लामो अवधिपछि राजिनामा पेस गर्ने एवं सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस माग गर्ने गरेपछि प्रचलित ऐन, कानुनको प्रभावकारी रुपमा पालना गर्ने गराउन निर्देशन दिएको छ ।
सबै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई निर्देशन दिदैँ शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा (५) मा सामुदायिक विद्यालयको शिक्षक वा कर्मचारीलाई पदबाट हटाउने अवस्था, शिक्षा नियमावली २०५९ को नियम १३३ मा शिक्षकले पालन गर्नु पर्ने आचार संहिता र सोही नियमावलीको नियम १३५ देखि १४३ सम्म नियम विपरित कार्य गर्ने शिक्षकलाई गरिने सजाय सम्बन्धी कानूनी व्यवस्था रहेको र सो अनुसार अगाडी बढ्न भनिएको छ ।
साथै अख्तियार प्राप्त अधिकारीले समेत नियम विपरित कार्यगर्ने शिक्षकलाई प्रचलित कानून बमोजिम कारबाही नगर्ने र कारवाहीको प्रक्रिया सुरु गरेपछि टुङ्गोमा नपुर्याई छाड्ने गरेका कारण विद्यालय र नेपाल सरकारलाई हुने हानी नोक्सानीका लागि सम्बन्धित अधिकारी समेत जिम्मेवार हुने उल्लेख गरेको छ ।




