काठमाडौं/२ भदौं-सेवा आयोगले परीक्षा लिँदा आफूअनुकूलका कर्मचारी र शिक्षक नियुक्ति हुने गरेको गुनासो आएपछि कर्मचारी तथा शिक्षक नियुक्तिका लागि लोकसेवा आयोगलाई परीक्षा सञ्चालन गर्न दिने सहमति भएको छ । विश्वविद्यालय र आन्दोलतरत विद्यार्थीबीचको वार्तामा कर्मचारी र शिक्षक नियुक्तिका लागि लिइने परीक्षा र नतिजा प्रकाशन गर्ने जिम्मा लोकसेवा आयोगलाई दिने सहमति भएको हो ।
सहमतिपछि विश्वविद्यालको सेवा अयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा नेपाल विद्यार्थी संघले लगाएको तालाबन्दी खुलेको छ । गत ९ असारमा सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लागेको थियो ।
त्यसैगरी आयुर्वेदको पाठ्यक्रम परिमार्जन गर्ने, प्रयोगात्मक परीक्षाको छात्रवृत्ति ०७९ साउनदेखि लागू हुने गरी ५० प्रतिशत वृद्धि गर्ने, परीक्षालाई कोडिङ, डिकोडिङ प्रणालीमार्फत सञ्चालन गर्न एक अध्ययन समिति गठन गर्ने र पठनपाठन नियमित सञ्चालन गर्ने सहमति भएको छ ।



