काठमाडौँ /२६ साउन-प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा वडा अध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विधेयकको व्यवस्थाबाट सामुदायिक विद्यालयको मर्म माथि प्रहार भएको भन्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले असहमति जनाएको छ । विद्यालय संचालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागीताको अधिकार माथि हस्तक्षेप भएको भन्दै असहमति जनाएको हो ।
महासंघले ५ बुँदे माग अघि सार्दै सामुदायिक विद्यालय अभिभावक र समुदायको हातबाट खोसिएको र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउन लागिएको विषयमा आपत्ति जनाएको छ ।
मस्यौदामा विभिन्न विषय संशोधन गर्न माग राख्दै संघीय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखिनुपर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्ने र अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखिनुपर्ने, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गर्नुपर्ने र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको भूमिकालाई संघीय शिक्षा ऐनमा व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ ।




