काठमाडौं/२५ साउन–निजी विद्यालय संगठनहरुले विद्यालय शिक्षा ऐनको मस्यौदा संशोधन नगरेसम्म आन्दोलनमा उत्रने घोषणा गर्दै आज माइतिघर मण्डलामा सरकार विरुद्ध आन्दोलन गरेका छन् । विद्यालय शिक्षा ऐनको मस्यौदा संशोधन गरेर मात्रै ल्याउनुपर्ने माग राख्दै आज माइतिघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।
निजी विद्यालय संगठनहरुसँग छलफल नै नगरी सरकारले एकलौटी तरीकाले विद्यालय शिक्षा ऐन ल्याउन खोजेको र गुठीमा जानुपर्ने बाध्यकारी ऐन ल्याउन लागेको भन्दै देश भरका निजी विद्यालयहरु आन्दोलित भएका छन् ।

प्यब्सन, नेशनल प्यब्सन, हिसानले संयुक्त रुपमा आन्दोलन गर्दै विधेयकमा राखिएका केही प्रावधानहरु निजी लगानीका संस्थागत विद्यालयहरु प्रति पूर्वाग्रही भएर संविधान विपरीत, अव्यवहारिक र अन्ययपूर्ण रुपमा ऐन ल्याउन खोजेको आरोप छ । विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने लगायतका बाध्यात्मक प्रावधान रहेकोले आन्दोलन मै उत्रन बाध्य पारिएको निजी विद्यालयहरुको भनाई छ ।
उनीहरुले नेपालका शिक्षालयहरु बन्द गराएर विदेशमा विद्यार्थी पठाउने वातावरण सिर्जना गरेको र नेपालका लागि भन्दा पनि भारतका लागि शिक्षा ऐन ल्याईएको आरोप लगाएका छन् ।
विधेयक संसदमा पेस हुनु अगावै निजी विद्यालयहरुका माग सम्बोधन नभए कम्पनी, निजी गुठी तथा सार्वजनिक गुठी अन्तर्गत देशैभरी सञ्चालनमा रहेका विद्यालयहरु आफ्ना मागपुरा नभएसम्म बन्दगर्ने घोषणा गरिसकेका छन् । उनीहरुले घोषणा गरेका आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २४ गते पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् भने आज मस्यौदा विरोध प्रदर्शन गरेका हुन् ।
त्यसैगरी साउन २६ गते सरोकारवाला पक्षविच अन्तरक्रिया तथा छलफल गर्ने, साउन २७ गते आ–आफ्नो संगठनमा समिक्षा गर्ने, साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गर्ने र साउन २९ गते अनिश्चितकालिन विद्यालय बन्दसँगै विद्यालयका सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा गरेका छन् । साथै विद्यालय शिक्षा ऐनको मस्यौदामा ७ बँुदा संशोधन गर्नुपर्ने उनीहरुले माग राखेकाछन् ।



