महामन्त्री थापाले भने प्राध्यापकलाई दलीय सदस्यता लिन नपाउने व्यवस्था पालना गर्न तयार

काठमाडौँ /१ साउन-नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताएका छन् । विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउँदै विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताएका हुन् ।


आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नको निम्ति विश्वविद्यालयका प्राध्यापक, कर्मचारी लगायतकालाई दलीय सदस्यता लिन नपाउने अहिले रहेको व्यवस्थालाइ गम्भीरतापूर्वक अक्षरशः पालना तयार रहेका बताएका छन् । उनले कतिपय भएका कमजोरीहरूलाई सच्याउँन पनि तयार रहेको भनाई राखेका थिए ।


उनले सरकारले यसको महत्वलाई बुझ्न नसक्दा अझै पनि विश्वविद्यालयको ऐन नल्याइएको र अर्थ मन्त्रालयतिर घुमिरहेको बताए । उनले भने ‘सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो । प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो । उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठन पाठन कसरी बदल्ने ? कतिओटा विश्वविद्यालय चाहिन्छ ? यी सबैको बारेमा हेर्ने एउटा मौका हो ।’


थापाले नेपाल विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरूमा जस्तै दलीय भागबन्डा हुन दिन नहुने पनि बताए । थापाले भने,‘विश्वविद्यालयको विधेयकहरू ल्याउँदै गर्दा कार्यपालिकाले कहीँ कतैपनि, कुनै पनि बाटोबाट हस्तक्षेप गर्न नसक्ने गरीकन बदल्नुपर्छ । नवीन प्राज्ञिक मान्यता र दृष्टिकोणका साथमा यो आएको छ ।’