नवलपरासी/२३ असार-राष्ट्रिय परीक्षा बोर्डले जहिले देखि विभिन्न कक्षाहरुका बोर्ड परीक्षाको नतिजा अक्षराङ्कन पद्धतिमा प्रकाशन गर्न थाल्यो त्यसै बेला देखि नेपालको शैक्षिक गुणस्तर नराम्रो संग प्रभावित हुन थाल्यो ।
अङ्कन पद्धतिमा नतिजा प्रकाशन हुँदा विद्यार्थीले प्राप्त गर्ने डिभिजन, प्रतिशत र नम्बरले यति महत्व राख्ने गर्थ्यो कि विद्यार्थीले एकाध नम्बरका लागि स्वच्छ प्रतिस्पर्धा गरेर अब्बल बन्ने प्रयास गर्दथे र दक्ष जनशक्तिमा आफुलाई दर्ज गराउँथे ।
अर्कोतिर सैद्धान्तिक र प्रयोगात्मकमा अलगअलग उत्तीर्ण हुनै पर्ने व्यवस्थाले विद्यार्थीलाई पठनपाठनमा बाध्य बनाएको थियो । पढाईको महत्त्वलाई पास, फेल, विशिस्ट श्रेणी, प्रथम श्रेणी, दोस्रो वा तेस्रो श्रेणीले दर्शाएको थियो । त्यो वास्तविक पढाइ थियो ।
हाल राज्यको करोडौं ढुकुटी खर्चेर दुईचार जना शैक्षिक माफियाहरु यूरोप भ्रमण गएर नक्कल गरिएको यो अक्षराङ्कन पद्धतिले विद्यार्थीहरुमा पढाइ प्रति कुनै रुचि नै जगाउन सकेको छैन । एकातिर फेल नै नहुने र अर्को तिर आफ्नो नतिजामा बिषयगत वा समग्र कति अङ्क प्राप्त भयो भन्ने जानकारी नै नहुने हुनाले शैक्षिक गुणस्तरमा ह्रास आएको छ ।
सैद्धान्तिक र प्रयोगात्मक अङ्क जोडेर ३५ अङ्क ल्याएमा १.६ जिपिए सजिलै प्राप्त हुने छ । किन कि प्रयोगात्मक अङ्क दिंदा कुल पुर्णाङ्कको न्युनतम ८०% अङ्क सबैलाई प्रदान गरिन्छ र सैद्धान्तिकमा २०% अङक प्राप्त गर्नासाथ दुबै अङ्क जोड्दा विद्यार्थी कक्षा चढ्न योग्य हुन्छ । उदाहरणको लागी ३.२ जिपिए ल्याएका सबै विद्यार्थीहरुले समान अङ्क ल्याएका हुदैनन् तर आफ्नो कति नम्बर आयो भन्ने जानकारी विद्यार्थीलाई हुदैन । यति देखि यति अङ्क आएछ भनेर चित्त बुझाउनु बाहेक ऊ सन्तुष्ट हुने कुनै उपाय छैन ।
यो लेटर ग्रेडिङ पद्धतिलाई अविलम्ब खारेज गरि अङ्कन पद्धतिबाट नै नतिजा प्रकाशन गरि सैद्धान्तिक र प्रयोगात्मकमा अलगअलग उत्तीर्ण हुनै पर्ने व्यवस्था गरीयोस । अयोग्य विद्यार्थीलाई कक्षा चढाउने उदार कक्षोन्नती गरिने अव्यवहारीक शैक्षिक बेथितिको अन्त्य हुन जरुरी छ । कुन विद्यार्थीले ठ्याक्कै कति अङ्क प्राप्त गर्यो त्यो विषयगत वा समग्रमा थाहा पाउनै पर्छ । शैक्षिक प्रतिस्पर्धालाई निरंतरता दिईनु आवश्यक छ ।
कुसुम न्यौपाने, शिक्षक, जनता मा.वि. मंगलचौर, अरुणखोला,नवलपरासी (पुर्व)



