महानगरले भन्यो : कक्षा ११ को १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गर्नु

काठमाडौं/२१ असार-काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिन सम्म कक्षा ११ मा भर्नाका लागि आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गर्न निर्देशन दिएको छ । महानगरभित्रका माध्यमिक तह कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थालाई निर्देशन दिएको हो ।


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईईको नतिजा प्रकाशन भएपछि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न शिक्षण संस्थाले विगतमा फरकफरक भर्ना तालिका तय गरी छोटो समयको म्यद राखी सूचना प्रकाशन गर्ने गरेकोले यसबाट विद्यार्थी भर्ना हुने अवसरबाट बञ्चित हुने गरेको भन्दै निर्देशन दिएको हो ।


साथै देशभरका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोका सम्बन्धमा काठमाडौं महानगरपालिका, शिक्षा विभागको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।