बुटवल उपमहानगरपालिकाले शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने

बुटवल/८ असार-बुटवल उपमहानगरपालिकाले शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।


उपमहानगरपालिकाको १३ औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि उनले शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने बताए ।


यस्तै बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन शुरु गर्ने नीति बुटवलले ल्याएको छ ।


बुटवलको शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अबलम्बन गरिने बताए ।


विद्यालयस्तरमा खेलाडी उत्पादन गर्न मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने र विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै खेलमैदानहरुको स्तरोन्नति गर्न प्राथमिकता दिइने उल्लेख गरिएको छ ।