आजदेखि विद्यालय बन्द गर्दै विद्यालय कर्मचारी, बन्द नगर्न स्थानीय तहको चेतावनी

काठमाडौं/३ असार–आन्दोलनरत सामुदायिक विद्यालयमा कार्यकरत विद्यालय कर्मचारीले आफ्ना माग पुरा नभएको भन्दै असार ३ गतेदेखि देशै भरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । विभिन्न चरणवद्ध आन्दोलनमा गर्दै आएका कर्मचारीहरुका माग प्रति अहिलेसम्म सरकारले सुनुवाई नगरेपछि असार ३ गतेबाट देशै भरका विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।


विद्यालय कर्मचारीहरु अहिलेसम्म विभिन्न चरणका आन्दोलन गरिरहेको र सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताएका छन् । जति गरेपिनि सरकारले माग सम्बोधन नगरेपछि बाध्य भएर देशभरका सामुदायिक विद्यालय बन्द गनुपर्ने अवस्था आएको उनको भनाई छ । उनले भने ‘विद्यालय बन्द गर्नु हाम्रो रहर होइन, तर न्युन सुविधामा काम गर्दै आएका विद्यालय कर्मचारीलाई राज्यले चिन्न सकेन, पटक पटक हामीलाई वार्ता र सम्झौताको नाममा धोका दिने काम भएको छ । अब हाम्रा माग पुरा नभएसम्म हामी रोकिदैनौं, जस्तो सुकै अवस्था आएपनि र जे सुकै गुमाउन परेपनि हामी तयार छौं ।’


उनीहरुले जेठ २० गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । नेपाल सरकारको नीति तथा कार्यक्रममा (आर्थिक वर्ष) २०८०/०८१ बुँदा नं. १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको सेवा सुविधा सम्बोधन गरिनेछ भनिएपनि बजेट भाषणमा काँही उल्लेख नगरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।


साथै न्युन तलबमा काम गर्दै आएका विद्यालय कर्मचारीहरुले तलब वृद्धि लगायत विभिन्न सेवा सुविधाका लागि माग राख्दै आएका छन् ।


आन्दोलनरत विद्यालय कर्मचारीसँग छलफल गर्न वार्ता समिति


विद्यालय कर्मचारीको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता समिति बनाएको छ । मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौंडेलको संयोजकत्वमा वार्ता समिति बनाएको हो ।


मन्त्रनलयका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, विद्यालय शिक्षा शाखाका उपसचिव, अर्थ मन्त्रालय र संघिय मामिला मन्त्रालयका प्रतिनिधि सहित चार सदस्य वार्ता समिति बनाएको छ । शुक्रबार वार्ता समिति बनाएपनि आइतबारदेखि यो समितिले वार्ता अगाडी बढाउने मन्त्रालयले जनाएको छ ।


साथै नेपाल शिक्षक महासंघलाई विद्यालय कर्मचारीको माग सम्बन्धमा समस्या समाधनका लागि आवश्यक पहल गर्न र समस्या समाधानका उपायहरु सहित प्रतिवेदन पेश गर्न भनिएको छ ।


पठनपाठन बन्द गरे कारबाही गर्ने स्थानीइ तहको चेतावनी


काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कुनै हालतमा विद्यालय बन्द गर्न नहुने बताउँदै कसैले विद्यालय बन्द गरे जागिरबाट हटाइने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलापहरू नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदैँ काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको जनाएका छन् ।


साथै काठमाडौँ महानगरपालिका, महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई महानगरपालिकाका सम्पूर्ण विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् ।


उनले महानगरपालिकाका विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न बाधा पु¥याउने कुनै संस्था वा कर्मचारीहरूलाई शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने, विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पु¥याउने काम भएमा महानगरपालिका शिक्षा ऐनको दफा २८ बमोजिम विद्यालय व्यवस्थापन समिति विघटन गरिने, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने र काठमाडौँ महानगरपालिका शिक्षा ऐन एवं प्रचलित अन्य कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।


त्यसैगरी बुढीगंगा गाउँपालीकाले पठनपाठन बन्द गराउने कार्यले बालबालिकाको शिक्षा प्राप्त गर्ने मौलिक हक कार्यन्वयनमा बाधा आउने भन्दै विद्यालय बन्द नगर्न निर्देशन दिएको छ । आन्दोलनका स्वरुपको विषयम पुनविर्चार गर्न अनुरोध गर्दै पठनपाठन बन्द गरे प्रचलित फौजदारी कानुन आकर्षित हुने चेतावनी दिएको छ ।