विराटनगर/३० जेठ-आफ्ना माग सम्बोधन नभएको भन्दै विद्यार्थीहरुले पूर्वाअञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमोसो दलेका छन् । विद्यार्थीहरूले सेवा आयोगका प्रमुख महेशराज दाहाललाई कालोमोसो दलेका हुन् ।
विद्यार्थीहरुले सेवा आयोगको विज्ञापन खारेज गर्न माग गर्दै आएपनि नगरेपछि सोमबार दाहालको क्वाटरमै गएर उनीमाथि कालोमोसो दलेका हुन ।
विश्वविद्यालयको सेवा आयोग द्धारा जारी कर्मचारी नियुक्तिमा कानुनी जटिलता, ऐन संगत नरहेका सेवा आयोगले निष्पक्षता नगरी विद्यार्थी संगठनका मागको वेवास्था गर्दै गल्ती नसच्याई आफ्नो कार्यकर्ता भर्ती गरेर अघि बढ्न खोजेकाले कालोमसो दलेको विद्यार्थीहरुको भनाई छ ।
परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी
नेपाल विद्यार्थी संघ, पूर्वाञ्चल विश्वविद्यालय समिति, अनेरास्ववियू (क्रान्तिकारी) र पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटी, अनेरास्ववियूले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय सुधारका लागि सारेका एजेन्डाहरुमा विश्वविद्यालय जिम्मेवार हुन नसकेको आरोप लगाउँदै अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
उनीहरुले तत्काल आयोगको विज्ञापन खारेज गरी र अत्यन्त आवश्यक जनशक्तीका लागि मात्रै नयाँ विज्ञापन खोल्न, काठमाडौंको आन्दोलनका क्रममा झुठा मुद्दा लगाई प्रहरी हिरासतमा रहेका विद्यार्थीहरुलाई रिहाई गरी परीक्षामा सामेल हुने वातावरण सिर्जना गर्न र मेडिकल कलेज संञ्चालन गर्न मेडीकल काउन्सिलले माग गरे अनुरुप के कति कार्य विश्वविद्यालयले अगाडी बढाएको छ, त्यसको विवरण सार्वजनिक गर्न माग गर्दै तालाबन्दी गरेका छन् ।
तालाबन्दीका कारण परीक्षा स्थगित
विश्वविद्यालयले विशेष कारण देखाउँदै परीक्षा स्थगित गरेको छ । जेठ ३२ गतेदेखि सञ्चालन हुने र त्यसपछिका मितिदेखि हुने सबै संकायका परीक्षाहरु स्थगित गरेको छ ।
विश्वविद्यालयले विषेश कारण देखाउँदै अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगीत गरेको जनाएको छ । साथै जेठ ३२ गते भन्दा अघिदेखि सञ्चालनमा रहेका परीक्षा यथावत संचालन रहेको जनाएको छ ।
सहज वातावरण बनाईदिन सरोकारवालासँग विश्वविद्यालयको आग्रह
विभिन्न विद्यार्थी संगठनहरुले परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेपछि पूर्वाञ्चल विश्वविद्यालयले सहज वातावरण बनाईदिन सरोकारवालाहरुसँग आग्रह गरेको छ । विद्यार्थीहरुको भविष्यसँग जोडिएको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका कारण दैनिक कार्य सम्पादनमा अवरोध सिर्जना भएको भन्दै सहज वातावरण बनाईदिनका लागि सरोकारवालाहरुसँग आग्रह गरेको हो ।
विश्वविद्यालयले सरोकारवालाहरुसँग आग्रह गर्दै भनेको छ ‘पूर्वाञ्चल विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयमा विभिन्न विद्यार्थी संघ,संगठनले जेठ २८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका कारण दैनिक कार्य सम्पादनमा अवरोध सिर्जना भएकोले हजारौं विद्यार्थीहरुको भविष्यलाई मध्यनजर गर्दै सम्पूर्ण सरकोकारवालाहरुलाई सहज वातावरण बनाई दिनुहुन अनुरोधका साथ हार्दिक अपिल गर्दछौं ।’
साथै विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षा व्यवस्थापन कार्यालयमा विभिन्न वाहानामा लाताबन्दी गरिनु राम्रो नभएकोले तालाबन्दी सधैका लागि अन्त्य गरिनुपर्ने जानकारी दिएको छ । विश्वविद्यालय वार्ताका माध्यमबाट समस्या समाधान गर्न तयार हुँदाहुँदै पनि विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको जनाएको छ ।
विश्वविद्यालका विभिन्न विषयमा विद्यार्थी संघ संगठनले सरोकार राख्न पाइएपनि तालाबन्दी नै गरेर परीक्षा जस्तो संवेदनशिल कार्यलयमा हस्तक्षेप गर्न नहुने र यसलाई स्विकार गर्न नसकिने जनाएको छ । विश्वविद्यालयमा जे जस्ता समस्या भएपनि आफुहरु वार्ता गर्न तयार रहेको र वार्ताको माध्यमबाट समाधान खोजिनु पर्ने विश्वविद्यालयको तर्क छ ।



