‘शिक्षामा सिप’ कार्यक्रम सुरु,बालेन शाहले गरे विद्यालय निरिक्षण

काठमाडौं/३० बैशाख-काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपालकै पहिलो विद्यालय दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयको निरिक्षण गरेका छन् । महानगरले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरीक्षणका लागि विद्यालय पुगेका हुन् ।


महानगर भित्रका सामुदायिक विद्यालयहरूमा हरेक साता शुक्रवार हुने ‘शिक्षामा सिप’ कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन कसरी भइरहेको छ भन्ने विषयमा उनले विद्यालय पुगेर निरीक्षण गरेका छन् ।


शाह दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयमा पुगेर कक्षाकोठामा विद्यार्थीहरु सँगै बसेको उनले सामाजिक सञ्जामा उल्लेख गरेका छन् । ‘शिक्षामा सिप’ कार्यक्रम स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहँदै गर्दा प्रमुख कार्यक्रमका रूपमा घोषणा पत्रमा समेत समेटिएको र त्यसै अनूरुप उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् ।


‘महानगरले पुस्तक बिहीन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरूले व्यवहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्नेछन् । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य हो। यसले विद्यार्थीहरूमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुने हामीले आशा राखेका छौ उनले लेखेका छन् ।’


यस्तो छ उनको भनाई


काठमाडौं महानगरले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरीक्षण गरियो । महानगर भित्रका सामुदायिक विद्यालयहरूमा हरेक साता शुक्रवार हुने उक्त कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन कसरी भइरहेको छ भन्ने निरीक्षण गर्ने क्रममा आज हामी जमलस्थित नेपालकै पहिलो विद्यालय दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयमा पुगेका थियौँ। ती दुई विद्यालयका कक्षाकोठामा विद्यार्थीहरु सँगै बस्ने अवसर मिल्यो ।


उक्त निरीक्षणको क्रममा हामीले विद्यालयका शिक्षकहरू सँग स्रोत साधन र मानव संसाधनको अवस्था कस्तो छ भनेर बुझ्नुका साथै पुस्तकालयको अनुगमन पनि गरेका छौ। यो निरीक्षणले विद्यार्थी र शिक्षकहरू सँग थप नजिक भएको महसुस भएको छ।


हामीसँग महानगरका विभागीय प्रमुख, स्कुल व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगायतको टिम सहभागिता रहेको थियो । ‘शिक्षामा सिप’ कार्यक्रम हाम्रो स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहँदै गर्दा प्रमुख कार्यक्रमका रूपमा घोषणा पत्रमा समेत समेटिएको थियो ।


कक्षा ९ मा नमुनाका रूपमा थालिएको उक्त कार्यक्रमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन् । फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एन्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विधा हुन् ।


महानगरले पुस्तक विहीन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरूले व्यवहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्नेछन्। विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य हो। यसले विद्यार्थीहरूमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुने हामीले आशा राखेका छांै ।