काठमाडौं/२६ चैत- विद्यार्थीहरुले आफुलाई अध्ययन गर्न मन लागेको विषय विदेश वा स्वदेश जहाँ रहेर पनि पढ्न पाउनु उनीहरुको मौलिक अधिकार हो । स्वदेशमा रहेका विश्वविद्यालयको शैक्षिक क्यालेण्डर लागु गर्न नसक्नु, विद्यार्थीका रुचिका विषय नहुनु, चरम राजनीति हुनु लगाएतका विभिन्न कारणले विद्यार्थी विदेश अध्ययनमा जान राज्यले नै बाध्य परेको अवस्था छ ।
एकातिर राज्यले दिनुपर्ने सामान्य सेवा सुविधा पनि नदिने, गुणस्तरिय शिक्षाको प्रत्याभुति पनि नगर्ने अनि विद्यार्थीहरुको मौलिक अधिकारमा रोक लगाउँदै एनओसीमा कडाई गर्नु सरासर गलत हो । यस विषयमा राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले घोर विरोध गर्नुका साथै यस्तो कार्य तुरुन्त रोक्नका लागि जोड्दार माग गर्दछ । अन्यथा कानुनी उपचारको सहयोग लिन बाध्य हुनेछौं ।
व्यक्तिको व्यक्तिगत स्वतन्त्रता माथि रोक लगाउँदै आफुले चाहेको देशमा, चाहेको विषयमा पढ्न पाउने आफ्नो मौलिक अधिकार प्रति वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गरेर विद्यार्थीलाई डिप्लोमा तहमा विदेश अध्ययन गर्न पाउने अधिकार राज्यले कटौँति गरेकोमा धेरै विद्यार्थीहरु मर्कामा परेका छन् ।
राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले अन्तराष्ट्रिय कलेजका प्रतिनिधि बिच बसेर यसबारे कार्यक्रम पनि गरिसकेको छ । शैक्षिक परामर्श व्यवसायीलाई व्यवसाय गर्ने वातारण सृजना गर्नु राज्यको दायित्व हो । तर, शिक्षा ऐन नै नबनाई निर्देशिका जारी गरेर बाध्य गर्ने प्रयत्न भएको छ, यस विषयमा राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले कडा प्रतिकार गर्दछ । करिब ४० हजारको रोजगारी सृजना गरेको परामर्श व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने ठाउँमा बन्द गर्नेसम्मको जुन कार्य हुँदैछ यसमा हामी सबै परामर्श व्यवसायीलाई मान्य छैन र यसको विरोध गर्दछौं ।
विदेश अध्ययनमा जाने विद्यार्थीहरुको विवरण नराख्नु राज्यको कम्जारी
संसारमा कही कतै कुनै पनि देशमा नभएको एनओसीको व्यवस्था नेपालमा रहेको छ । एनओसी नेपालको हकमा विदेश अवस्थित कलेज तथा विश्वविद्यालयमा पैसा पठाउन चाहिने पत्र हो । तर, यहाँ एनओसी यतिले लिए भनेर भिसा लागेर विद्यार्थी विदेशमा गए जसरी प्रचार गर्नु राज्यको कम्जोरी हो । अहिले सम्म राज्यले कति विद्यार्थी कुन देशमा, कुन विषय अध्ययनका लागि विदेश गए भन्ने कुनै विवरण राखेको छैन ।
त्यसका लागि राज्यले अध्यगमन मार्फत विदेशमा पढ्न जाने विद्यार्थीको विवरण राख्न सक्नु पर्छ । राज्यले गर्नुपर्ने कुनै पनि कार्य नगर्ने अनि एनओसी लिएका विद्यार्थीलाई विदेश अध्ययनमा गए भन्नु राज्यको कम्जोरी हो । एनओसी लिएका सबै विद्यार्थी विदेश अध्ययनमा गएका हुँदैनन् र सबैको भिसा लागेको हुँदैन ।
अर्को तर्फ सरकारले एनओसी लिने विद्यार्थीहरुसँग प्रति विद्यार्थी दुई हजार राजस्व उठाएको हुन्छ । त्यसबाट विद्यार्थीले के सुविधा पाए त ? अहिले सम्म कति विद्यार्थी विदेश अध्ययनका लागि देश छोडे भन्ने विवरण अध्यगमनमा राख्न नसक्ने राज्यले किन विद्यार्थीसँग राजस्व लिनु ? तसर्थ हचुवाको भरमा कुनै पनि निर्णय नगर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गर्दछौं ।
(लेखक दिपक कोइराला राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)का महासचिव हुन् ।)



