सडक सुरक्षा अभियानमा विद्यार्थीहरु सक्रिय

तुलसीपुर/२५ चैत-तुलसीपुरको विरेन्द्र चोकमा एकाबिहानै कालोकोट लगाएका विद्यार्थीहरुले सवारी साधन रोकेर चालकलाई सचेत बनाइरहेका थिए । विद्यार्थीहरुले कोट बाहिर सडक सुरक्षा स्वयम्सेवक लेखिएको ब्यानर समेत बाँधेका थिए । “हेल्मेट राम्रोसँग बाँध्नुहोला, बाटोमा हिड्दा फुटपाथबाट मात्रै हिड्नुहोला, मोटर साईकलमा तीन जनालाई नबोक्नुहोला ” उनीहरुले सवारी चालक र यात्रुलाई यस्तै तरिकाले सचेत बनाइरहेका थिए ।


तुलसीपुर मेट्रो कलेजले सामाजिक अभियान अन्तर्गत ट्राफिक प्रहरीसँगको साझेदारीमा सडक सुरक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गरेको थियो । बिएएलएलबी चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले सडकमा हुने विभिन्न खालका दुर्घटनाबाट बच्नका लागि सबैलाई सचेत बनाइरहेका थिए । उनीहरुले सडक सुरक्षित तवरले प्रयोग गरे गन्तव्यमा पुग्न सकिने र प्रयोग गर्न नजाने जीवन नै समाप्त हुने कुरा सिकाइरहेका थिए ।


ट्राफिक प्रहरी कार्यायल तुलसीपुरका प्रहरी नायव निरीक्षक तिर्थराज भुषालले विद्यार्थीहरुलाई ट्राफिक नियम, सवारी दुर्घटनाको कारण, सवारी दुर्घटना न्युनिकरणका उपायहरु लगायतका विषयमा जानकारी दिएका थिए । विद्यार्थीहरुले स्वयम्सेवकका रुपमा सडकमै पुगेर ट्राफिक व्यवस्थापनको अभ्यास गरेका थिए । उनीहरुले सवारी चालक, पैदल यात्रु, स्थानीय व्यवसायी र नागरिकलाई कसरी सुरक्षित तवरले सडक प्रयोग गर्ने भन्ने बारेमा जानकारी गराएका थिए ।