काठमाडौं/३० फागुन-शिक्षकहरूको क्षमता र दक्षता एवम् सिप अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन र आदर्श जनप्रेमी अङ्ग्रेजी माध्यमिक विद्यालय कौशलटार, भक्तपुरले तालिमलाई निरन्तरता दिने क्रममा तालिमको आयोजना गरेको छ ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन अन्तर्गत सिपिइपीका तर्फबाट सहजकर्ताका रूपमा तेजेन्द्र लम्सालको प्रस्तुतिमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयमा कार्यरत सबै शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यार्थीहरूलाई विषयवस्तुप्रति के कसरी बढी भन्दा बढी सक्रिय बनाउन सकिन्छ भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा भिन्न भिन्न तह र विषयका शिक्षक शिक्षिकाहरूको समूह निर्माण गरी पेडागोजी अन्तर्गतका विभिन्न प्रकारका प्रश्नहरू निर्माण गर्न लगाइएको थियो ।
साथै मनको परीभाषा दिइएको थियो । मन भनेको मस्तिष्कबाट सञ्चालित हुने शरीरको सङ्गठनात्मक अङ्ग भए पनि मनकै आधारमा शरीर परिचालित हुन्छ भनी मनलाई चिनाइएको थियो । मन स्वस्थ भएमा मात्र मानिस सुकार्य गर्न सक्ने भएकाले उक्त कार्यक्रममा मानिसलाई तनावमुक्त बनाउन केही समय मेडिटेसन गराएर यसले तनावमुक्त बनाई शरीरमा नयाँ ऊर्जा प्रदान गर्ने तथ्य अवगत गराइएको थियो ।
समूहगत रूपमा आफूले अपनाएका शिक्षण पद्धतिहरूको सूची बनाई एउटा मन पर्ने र एउटा मन नपर्ने पद्धति छुट्याउन लगाइएको थियो । त्यस्तै सबै शिक्षकहरूलाई आफूले गराएका हरेक क्रियाकलापलाई लिखित रूपमा राख्दा त्यो स्थायी रिपोर्ट हुने भनी लिखित प्रमाण तयार गर्न सुझाव दिइएको थियो ।
त्यस्तै विद्यार्थीलाई समूहमा बाँडेर समूहको एकजनालाई सेलिब्रेटी र अर्कालाई इन्टरभ्युअरको रूपमा प्रयोग गरी इन्टरभ्युअरले प्रश्न सोध्ने र समूहको सेलिब्रेटीले उत्तर दिने गरी टेलिभिजन सो पनि कक्षामा गराउँदा विद्यार्थीलाई विषयवस्तुप्रति उत्सुक बनाउन सकिने क्रियाकलाप तालिममा गराइएको थियो ।
यसरी नै विद्यार्थीलाई समूह बनाउँदा फिसवल पद्धति अपनाउन सकिने सन्दर्भलाई कार्यक्रममा विशेष महत्त्व दिइएको थियो । समग्रमा आजको तालिमबाट प्रत्येक विषयमा विद्यार्थीलाई समूहगत छलफल गराई उनीहरुलाई नै क्रियाशील बनाउन सके मात्र शिक्षण सिकाइ प्रभावकारी .हुने कार्यक्रममा भनिएको थियो ।



