काठमाडौं/२० माघ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै पनि नाम गरेका संस्था तथा शैक्षिक परामर्श संस्थाहरुलाई शैक्षिक मेला आयोजना गर्न वा भेला गर्न अनुमति नदिएको जनाएको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै कसैलाई पनि शैक्षिक मेला आयोजना गर्न अनुमति नदिएको र त्यस्तो कार्य गर्नेलाई तुरुन्त कारबाहीको दायरामा ल्यउन आग्रह गर्दे पत्र लेखेको हो ।
मन्त्रालयका अनुसार गृह मन्त्रालयलाई बोधार्थ गराउँदै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको र यस्तो अनाधिकृत कार्य गर्ने जोकोहीलाई पनि कारबाही गरिने जनाएको छ । उच्च शिक्षा माहाशाखाका सहसचिव कृष्ण काप्रिले अहीलेसम्म कसैलाई वा कुनै पनि संस्थालाई शैक्षिक मेलाको लागि अनुमति नदिएको र त्यसरी कसैले शैक्षिक मेला आयोजना गरे गैर कानुनि ठहर हुने बताए । उनले कारबाहीका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र लेखि सकिएको जानकारी दिँदै गृह र प्रहरीको सहकार्यमा यस्तो कार्य रोक्नका लागि पत्र लेखिएको बताए ।
पछिल्लो समय शैक्षिक परामर्श संस्था र विभिन्न नाम गरेका संस्थाहरुले आफु खुशी शैक्षिक मेला गर्ने, विदेशी विश्वविद्यालयलाई बोलाएर परामर्श दिन लगाउने जस्ता कार्य गर्न थालेपछि शिक्षा मन्त्रालयलाई त्यसमा रोक लगाउनका लागि प्रहरीलाई पत्र लेखेर नै आग्रह गरिएको छ ।

केही समय अगाडी अनाधिकृत शैक्षिक मेलाका बारेमा खबर एजुकेशनले समाचार प्रकाशन गरेपछि शिक्षा मन्त्रालयले सूचाना जारी गरेर शैक्षिक अनुमति विना शैक्षिक मेला नगर्न निर्देशन दिएको थियो । यस बारेमा खबर एजुकेशनले निरन्तर समाचार प्रकाशन गरिरहेको छ ।








