नीति अनुसन्धान प्रतिष्ठानमा केयू एमफिलका विद्यार्थीको प्रस्तुतिकरण

काठमाडौं/१३ माघ-काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन, एमफिल इन डेभलप्मेन्ट स्टडीज दोस्रो सेमेष्टरका विद्यार्थीहरुले नीति अनुसन्धान प्रतिष्ठान (पिआरआइ), नारायणहिटीमा नेपालमा सार्वजनिक नीति प्रक्रिया र चुनौती विषयमा एक गोष्ठी आयोजना गरेका छन् । डेभलप्मेन्ट पोलिसी एण्ड प्लानिङ्ग विषयको आशिंक आवश्यकता परिपूर्तिका लागि ६ वटा समूहमा बसी विद्यार्थीहरुले सार्वजनिक नीति निर्माण र पुनरावलोकन सम्वन्धी जनचासोका विभिन्न विषयहरुमा अध्ययन गरी आ–आफ्ना कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।


उक्त समूह कार्य अन्तर्गत रामदास चौधरी, राधाकृष्ण हुमागाईँ, रिचन श्रेष्ठ र केरेन महर्जन सम्मिलित समूहले कृष्णपुर नगरपालिकाको शिक्षा नीतिको प्रारम्भिक मस्यौदा निर्माण गरी प्रस्तुत गरेका थिए भने जीवन तामाङ्ग, संचिता महर्जन, पूर्ण कुमारी लिङ्देन, आङनिमा लामा र प्रतिभा राईको समूहले महालक्ष्मी नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीतिको प्रारम्भिक मस्यौदा निर्माण गरी प्रस्तुत गरेका थिए । त्यस्तै संजिव कुमार पन्थी, सुनिला बनिया र विकास घजु सम्मिलित समूहले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा घट्दो रोजगारी दर सम्बन्धी नीति संक्षेप प्रस्तुत गरेको थिए ।


महेश्वर रिजाल, दिनेश कोइराला र केरेन महर्जनको समूहले सडक दुर्घटनामा आधारित विपद् जोखिम न्यूनिकरण सम्बन्धी नीति संक्षेप प्रस्तुत गरे । साथै वैदेशिक लगानी सम्बन्धी नीति संक्षेपको प्रस्तुतीकरण अस्मिता केसी, कविता गुरुङ्ग र विनिता सुवेदीको समूहले गरेको थियो । काठमाडौं महानगरपालिकाले तयार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुको नियमावलीका लागि नीतिगत सुझावको प्रस्तुतीकरण त्रिजन सिंह, दृष्टी उप्रेती, विश्वास प्रजा र गौतम विलास जोशी सहितको समूहले गरे ।


उक्त अवसरमा विषय शिक्षक डा.राजकुमार ढुँगाना, प्रतिष्ठानका तर्फबाट अनुसन्धान विभागका प्रमुख एवं वैदेशिक लगानी नीति समूहका सुपरिवेक्षक डा. हरि शर्मा न्यौपाने, प्राविधिक तथा व्यावसायिक नीति समूहका सुपरिवेक्षक डा. गिरी राज शर्मा र जोखिम न्यूनिकरण नीति समूहका सुपरिवेक्षक डा. कल्पना खनालका साथै प्रतिष्ठानका कर्मचारीहरु र एमफिलका २२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुका प्रस्तुतिहरुमा सुपरिवेक्षकहरु र अन्य सहभागीहरुले प्रतिक्रिया र पृष्ठपोषण प्रदान गरेका थिए ।


कार्यक्रमको दोस्रो चरणमा प्रतिष्ठानका सहअनुसन्धानकर्ता डा. झम कुमार विश्वकर्माले नीति निर्माणको प्रक्रिया र संरचना विषयमा विद्यार्थीहरुका लागि जानकारीमूलक प्रस्तुती दिए भने डा.न्यौपानेले पनि नीति अनुसन्धान प्रतिष्ठानको संरचना र गतिविधिहरुमा प्रकाश पारे । अन्तमा डा. ढुँगानाले काठमाडौं विश्वविद्यालय र नीति अनुसन्धान प्रतिष्ठानबीच सम्झौता ज्ञापनपत्र अन्तर्गत निरन्तर गतिविधिहरु सञ्चालन भइरहेको कुरा उल्लेख गर्दै आगामी दिनहरुमा पनि निरन्तर सहकार्यको अपेक्षा गर्दै धन्यवाद ज्ञापन सहित उक्त अन्तक्रिया कार्यक्रम समापन गरे ।