शिक्षामन्त्रीज्यू ! टोपी फेर्ने कि दिमाग ?

काठमाडौं/४ माघ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुनुभएकोमा माननीय शिशिर खनालज्यूलाई हार्दिक बधाई !


मन्त्रीज्यू, म आफू पत्रकारितामा लागेको २३ वर्ष अनि शिक्षा पत्रकारितामा सक्रिय भएको २१ वर्ष बितेछ । म नागरिक भएपछि (मेरो १६ वर्ष उमेरपछि) नेपालका शिक्षामन्त्री पनि २१ जना फेरिइसकेछन् । मेरो भोगाईमा तपाईँ २२ औं मन्त्री हुनुभएको छ ।


अहिलेसम्म ब्यहोरेका शिक्षामन्त्री मध्ये नयाँ र शिक्षामा साँच्चैको परिवर्तनकारी काम कसले गरेछ भनेर विगतका फाइल पल्टाउन थाल्छु–अहँ मैले त त्यस्तो केही भेटिनँ । मेरो दृष्टिदोष पनि हुन सक्छ, त्यसमा सच्याउनुपर्ने भए निःसन्देह म सच्चिनेछु । पहिला शिक्षामन्त्री भएपछि कर्मचारी सरुवा (मूलतः जिल्ला शिक्षा कार्यालय छँदा जिशिअ सरुवा) पहिलो काम हुने गर्थ्यो । अहिलेसम्म पनि यो प्रवृत्तिले झनै निरन्तरता पाएको छ । अहिले त उपसचिव, सहसचिव, निर्देशक, उपमहानिर्देशक, महानिर्देशक अनि सचिवको अदलबदल गर्नु छँदैछ । तर, शिक्षामा खोजिएको परिवर्तन मात्र नभई रुपान्तरणको थालनी माननीय मन्त्रीज्यूमध्ये कसैले पनि गरेको मैले पाइनँ ।

मेरो दृष्टिदोष पनि हुन सक्छ, त्यसमा सच्याउनुपर्ने भए निःसन्देह म सच्चिनेछु । पहिला शिक्षामन्त्री भएपछि कर्मचारी सरुवा (मूलतः जिल्ला शिक्षा कार्यालय छँदा जिशिअ सरुवा) पहिलो काम हुने गर्थ्यो । अहिलेसम्म पनि यो प्रवृत्तिले झनै निरन्तरता पाएको छ । अहिले त उपसचिव, सहसचिव, निर्देशक, उपमहानिर्देशक, महानिर्देशक अनि सचिवको अदलबदल गर्नु छँदैछ ।

तपाईँ शिक्षाको मर्म बुझेको मान्छे शिक्षामन्त्री हुनुभएकोले केही आशा र विश्वासका साथ यी शब्दहरु कोर्दैछु ।


तपाईँले अति धेरै राम्रो गर्नुहुन्छ, निमेषमा चामत्कारिक परिवर्तन गर्नुहुन्छ भन्ने पनि होइन । तर, नराम्रो पनि गर्नुहुन्न भन्ने मेरो विश्वास हो । थोरै पहलमा आममानिसलाई देखिनेखालको रुपान्तरण गर्नेगरी यस प्रकारका कामहरु गर्नुहोस् भनी सुझाब दिन चाहन्छु ।


१. नेपालको सार्वजनिक शिक्षा खस्किएको अवश्य छ । त्यो अनुभव तपाईँ ‘टिच फर नेपाल’को अभियानमा छँदै महशूस गरी समाधानमा लाग्नुभएको हो । मेरो अनुभवमा पूर्व प्राथमिकदेखि आधारभूत तहसम्मको शिक्षा नसुध्रिएर यस्तो भएको हो । त्यसैले, प्रारम्भिक बालविकास कक्षादेखि पूर्व प्राथमिक तहका शिक्षक (इसिडिमा सिकाउनेलाई सहजकर्ता नभनौं) लाई मनग्गे तलब अर्थात् माथिल्लो कक्षामा पढाउनेको भन्दा बढी तनखा दिने व्यवस्था गर्नुहोस् । तर, शैक्षिक योग्यता र कुशलता अब्बल हुनुपर्ने मापदण्ड तोकियोस् । यसमा सम्झौता नहोस् ।


२. नेपालका सामुदायिक विद्यालयमा रहेका प्रधानाध्यापकहरुको तत्काल लगत उतार्नाेस् । पाँच वर्ष, १० वर्ष, १५ वर्ष, २० वर्ष, २५ वर्ष अनि तीन दशकभन्दा बढी प्रधानाध्यापक हुने प्रअहरु कहाँ कति छन् ? तिनले सिकाइमा अहिलेसम्म परिवर्तन के–के ल्याए ? बढी समय प्रअ बन्नेहरु र थोरै अवधिमा काम गरेकाबीच नतिजा कस्तो आइरहेको छ ? त्यो पत्ता लगाउनोस् । अनि ५ वा १० वर्ष कति समय एक व्यक्ति प्रअ हुनुपर्ने हो ? मापदण्ड बनाई क्षमतावान् व्यक्तिलाई सशर्त प्रअ बनाउने प्रणाली लागू गर्नाेस् ।


३.सामुदायिक विद्यालयको अपनत्व लिन हरेक अभिभावकमा पुनर्जागरण (चभलबष्ककबलअभ) अभियान थाल्नोस् । यस्तो अभियान गफमा होइन, सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने र अझ राम्रो नतिजा ल्याउने अभिभावकको लगत उतार्नाेस् अनि तिनलाई राज्यको सुविधासँग जोड्नोस् ।


४. पाठ्यक्रम छोटो र आवश्यकतामा आधारित बनाउने व्यवस्था गर्नाेस् । पाठ्यपुस्तक भद्दा र काइते भाषाका जटिल शब्दका होइनन् कि सरल अनि स्पष्ट तरिकाले पुनर्लेखन गरियोस् ।


५. विद्यार्थीलाई कक्षा ८ देखि नै ‘करियर’सम्बन्धी जानकारी दिई कम्तिमा भविष्य रोज्नसक्ने योग्य बनाउने कार्यक्रम ल्याउनोस् ।


६. कक्षा १२ सक्नेबित्तिकै ‘नो अब्जेक्सन लेटर’ लिई विदेश जान तम्तयार जनशक्तिलाई स्वदेशमै सम्भावना छ भन्ने विश्वास दिलाई यही अड्याउन ‘करियर ब्रिजिङ’ कार्यक्रम ल्याउनोस् ।


७. गरिखाने शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षालाई विद्यार्थी र अभिभावकको पहिलो रोजाई बनाउन बजेट, बजार र व्यवस्थापनलाई शतप्रतिशत (एक सय प्रतिशत) वृद्धि गर्नाेस् ।


८. कमसेकम प्रत्येक विश्वविद्यालयका प्रत्येक विषयमा कम्तिमा पनि २५ जना शतप्रतिशत विषयविज्ञ, वैज्ञानिक र क्षमतावान नागरिक तयार पार्ने गुरुयोजना तत्काल तयार पार्नुहोस् । (जस्तै ः बालीविज्ञ भए एउटै मकैको बोटमा १० घोगा फलाउने, एक मुठी धानको बाला लाग्नेमा पाँच मुठी फलाउने प्रविधि जान्ने जनशक्ति किन उत्पादन नगर्ने ? मलखाद कारखाना उत्पादन गर्न सक्ने जनशक्ति किन नबनाउने ?)


९. विद्यालय शिक्षा निःशुल्क पाउनुपर्ने नागरिकको संवैधानिक र नैसर्गिक अधिकारलाई ‘शिक्षाविद्’ वा ‘शिक्षाविज्ञ’ भनाउँदाहरुले आफ्नो सजिलाका लागि परिभाषित गरी कहिले सम्भव छ त कहिले छैन भनेर अल्मल्याउने गरेका छन् । तपाईँ नअल्मलिई यो अधिकारलाई स्थापित गर्नका लागि अहिलेको भन्दा दोब्बर लगानी बढाउन अर्थ मन्त्रालयसँग दह्रोसँग प्रमाण र कार्यक्रमसहित छलफल गर्नाेस् । बजेटका लागि खुट्टा दह्रो पारेर लडाई लड्नोस् ।


१०. परीक्षा प्रणाली फेर्नाेस् । तीनघण्टेको साटो कक्षा १ देखि नै सिक्दै आएको फाइल खोलेर विद्यार्थीको बहुआयमिक पक्षलाई जोडेर ग्रेडिङ गर्ने प्रणाली ल्याउनोस् । तर, ’उदार कक्षान्नोति’का नाममा नसिकी विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने प्रवृत्तिलाई पूरै रोक्नोस् ।


११. विद्यार्थीको नतिजामा आधारित शिक्षण जागिरलाई स्थायित्वसँग जोड्नोस् । एकपल्टको स्थायी निःशर्त सधैं स्थायी बनिरहने होइन कि त्यसलाई सशर्त बनाइयोस् । विद्यार्थीको आधा नतिजा खस्किएमा स्थायी शिक्षक पनि अस्थायी हुने र ७० प्रतिशत नतिजा खस्किएमा जागिरबाटै अवकाश हुनुपर्ने प्रावधान ल्याउनोस् । यदि शतप्रतिशत नतिजा दिने शिक्षक भएमा स्थायीभन्दा पनि बढीको ’अब्बल शिक्षक’को दर्जा दिई पुरस्कार, सुविधालगायतमा दोब्बर गर्ने नीति पनि ल्याउनोस् । यो नीति शिक्षकमा मात्र नभई शिक्षा मन्त्रालयदेखि विद्यालयसम्मका कर्मचारीका हकमा पनि लागू गर्नाेस् ।


माननीय मन्त्रीज्यू, नेपालको शिक्षा सुधार्न दिनुपर्ने सुझाबका फेहरिस्त जम्मा गर्ने हो भने महाभारतको ठेलीभन्दा ठूलो हुन सक्छ । तर, ’लिटिल थिंग्स वि डु…’ भने झैं मैले सुझाब दिन गरेको धृष्टतालाई मात्र मनन् गरिदिनुभयो भने अबको दुई वर्षमा नेपालको शिक्षामा रुपान्तरणको प्रारम्भिक अनुभव हुन थाल्नेछ ।

’लिटिल थिंग्स वि डु…’ भने झैं मैले सुझाब दिन गरेको धृष्टतालाई मात्र मनन् गरिदिनुभयो भने अबको दुई वर्षमा नेपालको शिक्षामा रुपान्तरणको प्रारम्भिक अनुभव हुन थाल्नेछ ।

फेरि पनि स्मरण गराउँछु कि मैले नागरिक भएपछि भोग्नुपरेको नेपालका २१ जना शिक्षामन्त्रीले एक्काइसै थरी टोपी फेरे, आफ्नो हैसियत फेरे तर शिक्षा फेर्ने दिमाग फेरेको पटक्कै पाइनँ । तपाईँ पनि भादगाउँले कालो टोपी पहिरनसहित मेरो नागरिक जीवनमा २२ औं मन्त्री हुनुभएको छ, पक्कै पनि यहाँको शीरमा टोपी मात्र नभई शिक्षा फेर्ने दिमाग पनि छ । अवश्यमेव टोपीसँगै दिमाग पनि फेर्नुहोस् । हामी हेरिरहनेछौं…। आगे तपाईँकै कर्म । जय होस् !