सार्वजनिक र निजी विद्यालय विच सहकार्य गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं/२७ पुस-राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले २५ औं स्थापना दिवस तथा रजत महोत्सव मनाएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा मन्त्री अब्दुल खानको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा रजत महोत्सव मनाएको हो ।


रजत महोत्सवको अवसरमा नेशनल प्याब्सन राष्ट्रिय लोक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरीएको थियो । देशभरीका नेसनल प्याब्सनमा आवद्ध विद्यालयहरूबाट छनोट भई आएका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री अब्दुस खानले एन प्याब्सनले गुणस्तरीय शिक्षामा योगदान दिएको र सरकारले संस्थागत विद्यालयहरुसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने धारणा राखे । उनले उच्च शिक्षाका लागि नेपालबाट विदेश अध्ययनमा जानेलाई रोकेर विदेशबाट विद्यार्थी आउने वातावरण सृजना गर्न मन्त्री परीषद्मा छलफल भइरहेको बताए ।


विशिष्ट अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले गरिबका छोरा छोरीले पनि पढ्न पाउने विद्यालयको आवश्यक रहेको बताउँदै पैसा हुनेले निजीमा पढाएपनि गरिबका छोरा छोरी पढ्न निशुल्क र अनिवार्य शिक्षालाई कार्यन्वयन गर्नुपर्नेमा जोड् दिए । साथै सरकारले संस्थागत विद्यालय र सार्वजनिक विद्यालय विच विभेद गरेको बताउँदै यसका लागि विकसित देशहरुले अपनाएको नितीलाई हेर्न सुझाब दिए ।


शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले शिक्षाको २५ प्रतिशत क्षेत्र निजीले ओगटेको बताउँदै निजी विद्यालय र सार्वजनिक विद्यालय एक अर्काको पूरक रहेको बताए । उनले संविधिानमा तीन खम्बे नीति उल्लेख गरीएकोले निजी र सार्वजनिक विद्यालयको सहकार्य गरेर बढ्नुपर्नेमा जोड् दिए ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले निजी वा सामुदायिक जुन भएपनि राम्रो गरेको लाई राम्रो भन्नु पर्ने बताउँदै जिवन यापन गर्न सक्ने शिक्षा दिन आवश्यक रहेकोले बताए । उनले संविधानमा निशुल्क र अनिवार्य शिक्षा भनिएकोले राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।


सामुदायिक विद्यालयमा पढाउने शिक्षक तथा सरकारी कर्मचारीले पनि आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा नपढाई निजी स्कूलमा पढाउने गरेको बताउँदै शिक्षालाई प्राथमिकतामा राखेर ऐन ल्याउनुपर्ने भण्डारीको भनाई थियो । साथै राज्यले अवसर नदिएकै कारण हरेक महिना ठुलो संख्यामा विद्यार्थी विदेश अध्ययनमा गइरहेको र यसमा नीति निर्माता र अभिभावकको दोस रहेको भनाई राखे ।


हिसानका अध्यक्ष रमेश सिलवालले “शिक्षा राम्रो भए राष्ट्र राम्रो हुने बताउँदै निजी क्षेत्रको लागानी राज्यले संरक्षण गर्नुपर्ने बताए । उनले भने “७.३२ प्रतिशत जिडिपी बढानमा निजी शैक्षिक संस्थाको भूमिका छ । यसलाई राज्यले बुझ्नु पर्छ । त्यसकारण निजी शैक्षिक संस्थालाई संरक्षण गरे मात्रै देशमा विकास हुन्छ ।”


विकसित देशहरुमा निजी र सरकारी साझेदारी गरेर जाने गरेको बताउँदै नेपालमा निजी विद्यालयलाई वेवास्ताको दृष्टिकोणबाट हेर्ने गरेको प्याब्सनका अध्यक्ष डिके ढुंगानाको भनाई थियो । उनले समग्र शिक्षा क्षेत्रको विकाससँगै सार्वजनिक विद्यालयको विकासका लागि सहकार्य गर्न तयार रहेको धारणा राखे । “शिक्षा र स्वास्थ्यको सवालमा कुनै पनि दलले वास्ता नगरेकै कारण उच्च शिक्षाका नाममा वार्षिक २ सय अर्ब बढी धनराशी बाहिरिएको छ, यसलाई रोक्नुपर्छ” ढुंगानाले भने ।


नेसनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष पाण्डव हमालले शिक्षा क्षेत्रमा नेसनल प्याब्सनको ठुलो योगदान रहेको बताउँदै निजी क्षेत्रको मुद्दाका सवालमा राज्यको ध्यान जान आवश्यक रहेको बताए । निजी क्षेत्र सामुदायिक विद्यालयको बाधक नभई सहयोगी रहेको र यसका लागि हातेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको उनको भनाई थियो ।


त्यसैगरी नेसनल प्याब्सन केन्द्रीय समितिका सह अध्यक्ष सुवास न्यौपानेले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा दिन आवश्यक रहेको बताउँदै निजी क्षेत्रले गुणस्तरीय शिक्षा दिन सफल भएको भनाई राखे । उनले २१ औं शताब्दिमा शिक्षालाई जिवन, जगत र प्रविधिसँग जोड्न आवश्यक रहेको र यो चुनौतिका रुपमा रहेको बताए । उनले भने “जिवनसँग जोड्ने भनेको जिवन उपयोगि सिप सहितको शिक्षा, संस्कार सहितको शिक्षा हो । त्यस्तै जगतसँग जोड्ने भनेको इकोसिस्टमसँग शिक्षालाई कसरी जोड्न सकिन्छ भन्ने कुरा हो । हाम्रा बालबालिकाले इकोसिस्टमलाई बुझन आवश्यक छ । यसो गर्न सकिएन भने अझै ठुला चुनौतिहरु देखिने छन् ।”