आर्थिक संकटमा परेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाको आर्थिक सहयोग

चन्द्रकान्त खनाल
गुल्मी/१९ पुस-गुल्मीको शैक्षिक धरोहरका रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले ५० लाख आर्थिक सहयोग गरेको छ ।


रेसुङ्गा नगरप्रमुख खिलध्वज पन्थीले आज नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।


चेक हस्तान्तरण गर्दै नगरप्रमुख पन्थीले गुल्मी जिल्लाको शैक्षिक धरोहरका रुपमा रहेको यस क्याम्पस धेरै विद्यार्थीको भविष्यसँग जोडिएको वताए । क्याम्पस संचालक समितिले यस क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको समयमा नगरपालिकाले एक करोड दिने घोषणा गरेको थियो ।


क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय अनुसार क्याम्पसलाई सहयोग गरिएको नगरप्रमुख पन्थीले वताए । क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट जोगाउनका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिकाका प्रमुख पन्थीको भनाइ छ ।


नगरपालिकाले बाँकी रहेको ५० लाख सहयोग छिटै दिने नगरप्रमुख पन्थीले वताए । नगरले उपलब्ध गराउने सहयोग स्वेच्छिक अवकाशप्राप्त प्राध्यापक कर्मचारीलाई उपदान बापत उपलब्ध गराइन क्याम्पस संञ्चालक समितिका अध्यक्ष श्रीभलामीले बताए । उनले गत २०७९ असारसम्म तलब भत्ता बापत मासिक करिब २२ लाख रुपैया भुक्तानी गर्दै आएको क्याम्पस कार्तिक सम्म आई पुग्दा क्याम्पसको सञ्चालन खर्च करिब १३ लाखमा झार्न सफल भएको वताए ।


उनले ७ सय ५० मा रहेको विद्यार्थी संख्या हाल ८०० बढी क्याम्पसमा रहेको बताउँदै खर्च अझ कम गर्दै समयानुकूल बजारमा बिक्ने बिषयहरु थप गरि विद्यार्थी संख्या वृद्धि गर्ने निरन्तर प्रयासमा रहेको जानकारी दिए । उनले सहयोगको लागि नगरपालिका र नगरप्रमुखलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग र सहकार्यको लागी सधै लागी रहने बताए ।