सामुदायिक विद्यालयका व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गरीने

काभ्रे/३ कार्तिक-काभ्रेको पनौती नगरपालिकामा रहेका ३४ वटा सामुदायिक विद्यालयको शिक्षा सुधारमा सहकार्य गर्न काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशन र पनौतीको सामुदायिक शिक्षा सुधारमा क्रियाशील संस्था ग्रामीण सामुदायिक संगठन नेपाल (आरसीएफ नेपाल) ले आज समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।


काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन वालचन्द्र लुइटेल र आरसीएफ नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाले ललितपुर हात्तिवन स्थित स्कुल अफ एजुकेशनको कार्यलयमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।


समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै काठमाडौं विश्विद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा.डा.बालचन्द्र लुइटेलले २०२८ मा बनेको ऐनबाट निर्देशित हालको शिक्षामा व्यापक सुधारको खाँचो रहेको बताउँदै यस किसिमको परिवर्तनका लागि काठमाडौं विश्वविद्यालयले लामो समयदेखि निरन्तर योगदान गरिरहेको बताए ।


उनले १८ देखि २५ बर्षबीचका युवाहरुको लागि व्यावसायिक र सीपमूलक प्राविधिक शिक्षाको विकासमा मूल जोड दिनुपर्नेमा जोड दिए । सामुदायिक शिक्षा सुधारमा आफ्नै समुदाय स्तरमा केन्द्रित भएर लागिरहेको आरसीएफ नेपालसंग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।


आफ्नै समुदायमा शिक्षाको गुणस्तर सुधारको अनेकौ किसिमको कोशिसमा लागिरहेको सन्दर्भमा काठमाडौ विश्वविद्यालय जस्तो प्रतिष्ठित संस्थाको साथ पाएकोमा अत्यन्त हौसला मिलेको आरसीएफ नेपालका कार्यकारी निर्देशक श्रीकृष्ण थापाको भनाई थियो । थापाले आगामी दिनमा आफ्नो संस्थाले गरिरहेको गतिविधिलाई अझ बढि प्रभावकारी रुपमा धेरै भन्दा धेरै विद्यार्थी र अभिभावकहरुको बीचमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।


हाललाई ५ बर्षका लागि सहकार्य गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पनौती नगरपालिकाका सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिहरुको क्षमता अभिवृद्धि एवं उनीहरुको लागि आवश्यक स्रोत व्यवस्थापनमा सहयोग गर्ने, पूर्व प्राथमिक शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक तालिम प्रशिक्षण एवं स्रोत व्यवस्थापनमा मद्दत पुर्याउने, प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि तथा अंग्रेजी, विज्ञान र गणित विषयको विषयगत तालिममा मूलः रुपमा केन्द्रित हुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । यी सबै कार्यहरुमा स्थानीय सरकारसंग प्रत्यक्ष रुपमा समन्वय गरेर अगाडि जाने कुरा हस्ताक्षरकर्ता दुवैले जानकारी दिए ।