काठमाडौँ विश्वविद्यालय र गोदावरी रेसिडेन्सियल स्कुल बिच सम्झौता

ललितपुर/२८ असोज-शिक्षकहरुको निरन्तर शैक्षणिक विकास एवम् पेशागत विकासका निम्ति गोदावरी रेसिडेन्सियल स्कुल र काठमाडौँ विश्वविद्यालय बिच तीन वर्षे सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा. डा. बालचन्द्र लुइँटेलले विश्वविद्यालयको तर्फबाट र गोदावरी रेसिडेन्सियल स्कुलका प्राचार्य कुलदिप न्यौपानेले विद्यालयको तर्फबाट, डा.प्रकाशचन्द्र भट्टराई , डा.धनपति सुबेदी , डा.सुरेश गौतम, विनोदप्रसाद पन्त, डा. हेमराज काफ्ले, शिवनाथ मैनाली, गणेश खातिवड़ा र निमेष श्रेष्ठ विश्वविद्यालयको तर्फबाट र स्कुलका प्रशासनिक प्रमुख खेमराज नेपालको उपस्थितिमा हस्ताक्षर गर्नु भएको हो । उक्त कार्यक्रम सिपिइपी संयोजक डा. पार्वती ढुङ्गानाको संयोजनमा सञ्चालन भएको हो ।


सम्झौताले शिक्षकको पेशागत विकासमा टेवा पुग्ने र कार्यक्रममा सिकेका कुराहरुबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत पुग्ने विचार प्रधानाध्यापक कुलदिप न्यौपानेले व्यक्त गरे । उनले गोदावरी रेसिडेन्सिल स्कुल सधैँ नवीन, विद्यार्थी केन्द्रित , बालमैत्री वातावरण र सरल शिक्षण पद्घतिको खोजीमा रहेको र यस सम्झौताले उक्तखोजी कार्यमा सहयोग पुग्ने विचार पनि व्यक्त गरे ।


कार्यक्रममा विश्वविद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइँटेलले विश्वविद्यालयले सिकाएका कुराहरु तालिम प्राप्त शिक्षकहरुले कक्षाकोठामा प्रयोग गरी विद्यार्थीको व्यवहारमा सकारात्मक परिर्वतन आएमा उक्त सम्झौता चरितार्थ हुने आशय व्यक्त गरे ।