काठमाडौं/८ असोज-नयाँ शिक्षा ऐन जारी नभएसम्म एसईई परीक्षाको सर्टिफिकेसन र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताएका छन् । परीक्षाको सबै व्यवस्थापन प्रदेशले गर्ने नियमावलीमा उल्लेख भएपनि परीक्षाको सर्टिफिकेसन र प्रमाणीकरणको अधिकार ऐनमा प्रदेशलाई नरहेका कारण बोर्डले नै गर्ने बताएका हुन् ।
खबर एजुकेशनसँगको संवादमा बोल्दै एसईई परीक्षाको सम्पूर्ण हस्तान्तरण प्रदेशलाई गर्नका लागि नयाँ शिक्षा ऐन आउनु पर्ने बताए । उनले भने “ऐन मा नै व्यवस्था छैन अहिले नै कसरी प्रदेशलाई सबै अधिकार दिन मिल्छ । हामीले विगत देखि नै प्रदेशलाई दिने भनेका छौं, दिने नै हो तर , यसका लागि शिक्षा ऐनमा व्यवस्था गरेको हुनुपर्छ र त्यसका लागि नयाँ शिक्षा ऐन आउनुपर्छ ।”
आफु आईसकेपछि एसईई परीक्षा केन्द्रले होइन प्रदेशले गर्नुपर्छ भनेर नियमावली परिवर्तन गरेको र त्यही लाईनबाट अगाडी बढीरहेकको प्रष्ट पारे । नियमावली अनुसार प्रदेशको सामाजिक विकास सचिवको अध्यक्षतामा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिएको उनले बताए ।
“प्रदेशले एसईई परीक्षाका जिल्लाहरुमा केन्द्र कायम गर्ने, परीक्षालाई समन्वय गर्ने, परीक्षा सञ्चालनको व्यवस्था मिलाउने, उत्तर पुस्तिका संकलन गरेर परीक्षण गर्ने र नतिजा प्रकाशन गर्नेसम्मका कामहरु प्रदेश परीक्षा व्यावस्थापनले गर्छ । तर प्रश्नपत्रको गुणस्तरियताको नियन्त्रण राष्ट्रिय परीक्षा बोर्डले नै गर्छ” उनले भने ।
सर्टिफिकेसन र प्रमाणीकरण जसले गर्छ त्यसले नै प्रश्नपत्र निर्माण गर्नुपर्छ र अरुले निकालेको नतिजालई बोर्डले प्रमाणिकरण गर्न मिल्दैन । त्यसैले कानूनका कारण अफ्ठेरोमा परेर राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्छ भनिएको हो । ऐनमा व्यवस्था गरेर एसईई परीक्षाको जिम्मा प्रदेशलाई नै दिनुपर्छ भन्नेमा हामी पनि छौं ।
शर्माले प्रश्नपत्र निर्माणको सवालमा स्तरीकृत परीक्षा प्रणालिको कुरा उठेको र कहिलेकाही विभिन्न मिडियाहरुमा स्तरीकृत परीक्षा प्रणालिको बारेमा कक्षा ८, १० र १२ को सबै राष्ट्रिय परीक्षा बोर्डले गर्न खोज्यो भन्ने आरोप पनि आउने गरेको बताए ।
उनले राष्ट्रिय परीक्षा बोर्ड अभिभावक संस्था भएको र संघीय सरकारले तलसम्मको तहलाई सहयोग गरेन भने गुणस्तरमा राम्रो नहुने बताउँदै स्थानीय तह र प्रदेश तहलाई मात्र जिम्मेवारी दिएर नपुग्नेमा जोड दिए । यसका लागि प्रदेशले काम गर्न नसकेको अवस्थामा क्षमता अभिवृद्धि केन्द्रले गर्नुपर्ने धारणा व्यक्त गरे ।
राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय निकाय भएका कारण यसले स्थानीय तह, प्रादेशिक तहमा सहयोग गर्ने, सपोर्ट गर्ने र स्थानीय तहसम्मै पुगेर हरेक शिक्षकले प्रश्नपत्र निर्माण गर्ने, निर्माण गरेका प्रश्नपत्रका कुरालाई कक्षा कोठासँग जोड्न सक्नु पर्ने उनको भनाई छ । स्थानीय तहसम्मका शिक्षकहरुलाई पाठ्यक्रम र प्रश्नपत्र निर्माणका बारेमा, प्रश्नपत्र निर्माण अनुसार विद्यार्थीलाई सिकाइने लगायतका विषयमा तालिम उपलब्ध गराउने योजनामा बोर्ड रहेको जानकारी दिए ।
पछिल्लो समय एसईईको परीक्षा आवश्यक छ कि छैन भन्ने सवालहरु उठने गरेको बताउँदै परीक्षा भनेको चेक पोइन्ट भएकाले यसको आवश्यक रहेको धारणा राखे । उनले भने “परीक्षाले विद्यार्थीकोे आफ्नो स्तर निर्धारण गर्ने र कक्षा १२ सम्म पुग्दा आफुलाई सच्याउन सक्ने भएकोले कक्षा १० मा स्तरीकृत परीक्षाको आवश्यक छ ।” राष्ट्रिय परीक्षा बोर्डले बनाएका कुराहरु स्तरकृत परीक्षाको गाईडलाइन हो । यसले स्थानिय तह र प्रदेशमा एउटै परीक्षा प्रणाली र मापदण्डलाई निर्धारण गर्छ यसआर्थमा पनि बोर्डको जिम्मेवार बढी रहन्छ ।
एसईईमा यही वर्षबाट स्तरीकृत प्रश्नपत्र आउने
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईमा तीन विषयको यही वर्षबाट स्तरीकृत प्रश्नपत्र आउने बताएका छन् । कक्षा १० को गणीत, अंग्रेजी र विज्ञान गरी तीन विषयको यही वर्षबाट स्तरीकृत प्रश्नपत्र आउने बताएका हुन् ।
स्तरीकृत प्रश्नपत्र कुनै ठुलो कुरा नरहेको र धेरै शिक्षकहरुले यसबारेमा नबुझेको बताउँदै जतिपनि भएका प्रश्नपत्र छन् ति सबै परीक्षण गरेर तयार पारीएकोे बताए । उनले भने “अहिले सातै प्रदेशमा सात किसिमका समानान्तर प्रश्न पत्र पठाउने गरेका छौं । त्यो समानान्तर प्रश्नपत्रहरु शिक्षकबाट बनाएका प्रश्नपत्रहरु हुन् । शिक्षकबाट बनाएका प्रश्नपत्रहरु यो र त्यो बराबर होला भन्ने अड्कल मात्रै हो । त्यसरी अड्कल हुँदा कुनै प्रदेशमा एक किसिमको प्रश्नपत्र गयो र अर्कोमा अर्कै किसिमको प्रश्नपत्र जाँदा स्टयण्डर्स कायम हुन सक्दैन । यदी प्रश्नपत्रहरु परीक्षण भएर यसको तह ठिक छ की छैन भनेर परीक्षाको दृष्टिकोणले परीक्षण गरेर पठाइयो भने एउटै स्टयाण्डर्स कायम हुन्छ ।”
अहिले पाठ्यक्रमले मार्गदर्शन गरेको लाइनबाट गइराखेको बताउँदै राष्ट्रिय परीक्षा बोर्ड विद्यार्थीको कम्पिटेन्सी नाप्ने लाइनमा जानखोजेको बताए । उनले स्तरीकृत परीक्षामा पनि फरक फरक कुराहरु रहेको र सबै कुराहरु शिक्षकलाई थाहा नभएकोले यो वर्ष शिक्षकहरुलाई सिकाउने तयारीमा बोर्ड रहेको जानकारी दिए ।



