शिक्षकलाई विद्यालयमा राजनीति नगर्न शिक्षाराज्यमन्त्रीको आग्रह

काठमाडौँ /५ असोज-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षालयहरु पठनपाठनका थलो भएको बताउँदै राजनीतिक मैदान नबनाउन आग्रह गरेका छन् । शिक्षा क्षेत्रमा निरन्तर भएको राजनीतिले सकरात्मक प्रभाव नपार्ने भन्दै राजनीतिक मैदान नबनाउन आग्रह गरेका हुन् ।


शिक्षा पत्रकार समाजको दोस्रो वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यालय शिक्षास्तरमा हुने शिक्षक राजनीति होस् वा विश्वविद्यालय स्तरमा हुँदै आएको विद्यार्थी राजनीतिले सकरात्मक प्रभाव नपारेको बताउँदै शिक्षालयहरुमा राजनीति नगर्न आग्रह गरे । उनले भने “विद्यार्थी तथा शिक्षकको धर्म सिक्ने तथा सिकाउने मात्रै हनुपर्दछ ।”


उनले शिक्षण संस्था बालबालिकाको पढ्नका लागि खोलिएका पवित्र मन्दिर भएकाले विश्वविद्यालय वा विद्यालयमा तालाबन्दी र अवरोध तथा राजनीति अवाञ्छनीय भएको स्पष्ट गरे । साथै शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ हालै सार्वजनिक भएकाले सोअनुसार कार्यान्वयनका लागि सबै पक्षको सहयोगको अपेक्षा व्यक्त गरे ।


कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सरकारले हालै सार्वजनिक गरेको शिक्षाको सोचपत्रले शिक्षा विकासको समग्र पक्षमा समावेश गरेको र यो जीवन्त दस्तावेज भएको बताए । उनले मन्त्रालयले दिने शैक्षिक सूचनाको प्रवाहमा कुनै कमी नहुने विश्वास व्यक्त गर्दै कुनै कुनै सूचना दिँदा प्रक्रियाबाट दिनुपर्ने भएकोले कहिले काही समस्या हुनसक्ने बताए ।


शिक्षाविद् प्रा.डा.वासुदेव काफ्लेले गुणत्मक शिक्षाको आधार उत्कृष्टता भएकाले उत्कृष्टता र सन्तुष्टि आवश्यक भएको बताउँदै शिक्षा पत्रकारले खोजी पत्रकारिता र जनचेतनाका लागि काम गर्नुपर्नेमा जोड दिए । साथै सबलिकरणका लागि शिक्षा पत्रकारहरुले ध्यान दिन सुझाब दिए ।


कार्यक्रममा सार्वजनिक शिक्षाको सुधारमा समर्पित विभिन्न शिक्षासेवीलाई सम्मानित गरिएको छ । यस क्रममा धनुषाको जनता माविका प्रधानाध्यापक पवन मण्डल, काठमाडौँको जनकल्याण माविका प्रधानाध्यापक कुमारीकमला राई र विश्वनिकेतन माविका व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठ र काभ्रेको जनज्योति माविका प्रधानाध्यापक भानुभक्त मैनालीलाई सम्मान गरिएको छ । यस्तै समाजले स्थापना गरेको रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टकी पत्रकार तारा चापागाइँलाई प्रदान गरिएको छ ।