काठमाडौं/२९ भदौं-काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग समन्वय गरी ललितपुरको सुदेशा स्कुलले शिक्षकको क्षमता विकासमा तालिम प्रदान गरी निरन्तरता दिइरहेको छ । समसामयिक परिवेश अनुसार शैक्षणिक क्रियाकलापहरू उद्देश्य निर्धारण, प्रश्नपत्र निर्माण र विद्यार्थीको निर्माणात्मक मूल्याङ्कन कसरी गर्ने ? प्रयोगमा आधारित छलफल र मूल्याङ्कनका साधनको निर्माण सम्बन्धमा काठमाडौँ विश्वविद्यालयका सिपिइपी कार्यक्रम संयोजक पार्वती ढुङ्गाना र संयोजक लक्ष्मण लुइटेलले सहजीकरण गरेका थिए ।
परीक्षामुखी प्रवृत्तिलाई निरुत्साहित तथा विद्यार्थीलाई आफ्नो वैयक्तिक क्षमता अभिवृद्धि को अवसर दिन परीक्षा बाहेक सारांश लेखन, परियोजना कार्य, प्रस्तुतीकरण, एकाइ परीक्षा, अवलोकन, निरन्तर मूल्याङ्कन प्रणाली, प्रश्नोत्तर विधि, आत्म मूल्याङ्कन, सहपाठी मूल्याङ्कन, मत सङ्कलन, कार्य सञ्चयिका निर्माण जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरी निर्माणात्मक मूल्याङ्कनका साधन तथा विद्यार्थीको स्वमूल्याङ्कनमा समेत प्रयोग गरी रचनात्मक मूल्याङ्कनतर्फ उन्मुख हुन सकिने प्रचलित, मापदण्द सहितको बहुउपयोगी साधनको रुपमा सावित भएको रुब्रिक्सको उपयोगितामा छलफल गरी निर्माणात्मक मूल्याङ्कनमा रुब्रिक्स निर्माण सम्बन्धि अभ्यास गरिएको थियो ।
रुब्रिक्सको प्रभावकारीतालाई बढाउन समयानुकुल रुब्रिक्स्लाई परिमार्जन गर्नुपर्ने यसको निर्माणमा शिक्षक, विद्यालय प्रशासन मात्र नभई विद्यार्थी, अभिभावक र विज्ञहरु समेत संलग्नभई निर्माण गर्न सकिने निष्कर्षमा पुगिएको र जुन प्रक्रिया वा प्रणाली विद्यालयले अपनाइ राखेको थियो त्यसलाई थप रचनात्मक बनाएर शिक्षकहरूको पेशागत क्षमता विकासमा सहयोगी र शैक्षणिक क्रियाकलापमा मूल्याङ्कन प्रक्रियालाई थप रचनात्मक बनाउन अत्यन्तै सहयोगी सावित भएको धारणा तालिममा उपस्थित सम्पूर्ण शिक्षकहरूमा पाइएको छ ।
सबै विषय र शीर्षकमा प्रभावकारी ढङ्गले निर्माणात्मक मूल्याङ्कन गर्न सकिने र शिक्षक, विद्यार्थी एवम् सिकाइ क्रियाकलापमा के सिक्दैछु ? कति सिक्नुपर्ने हो ? म कसरी सिक्दैछु वा कसरी कार्यसम्पादन गर्दैछु भन्ने जान्न यो कोसे ढुङ्गो साबित हुने देखिएको छ ।



