रुपन्देही/२९ भदौं-रुपन्देहीमा बालबालिकालाई ललाई फकाई बेहोस बनाउने, अपहरण गर्ने लगायतका कुरामा गिरोह सक्रिय भएको भन्ने कुरामा अफवाह फैलिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीले त्यस्ता भ्रामक प्रचारको विश्वस नगर्न आग्रह गरेको छ ।
इकाइले मंगलबार सूचना जारी गर्दै त्यस्ता भ्रामक प्रचारको नेपाल सरकार गृहमन्त्रालय नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोले समेत ध्यानाकर्षण भएको सूचना प्रकाशित भैसकेको हुँदा भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरेको हो ।
इकाइले जारी गरेको सूचनामा केही दिन देखि केही शिक्षण संस्थाहरुबाट “ भारतबाट जोगी र माग्ने र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्तिहरु नेपालको विभिन्न अंगहरु झिकी बिक्री गर्ने गरेको” भन्ने व्याहोर लेखेर विभिन्न व्यक्तिहरुका भिडियो, तस्वीर समेत संलग्न गरी सामाजिक सञ्जालमा फैलाइएको भ्रामक प्रचार प्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
साथै त्यस्ता कुनैपनि अपराध सम्बन्धी सूचना प्राप्त भएमा जिल्ला प्रशाशन कार्यलयमा वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ । समाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जो कोहिलाई प्रचलित कानून बमोजिम कारबाही गरिने समेत जनाएको छ ।
रुपन्देहीका विद्यालयहरुले बालबालिकाहरु विद्यालय प्रवेशको समय र विद्यालय पश्चात घर प्रस्थानको समयमा बालबालिका अपहरणका घटना हुन सक्ने भन्दै अभिभावकहरुलाई सचेत रहन आग्रह गर्दै बालबालिकालाई विद्यालय छोड्न र लिन अभिभावक स्वंयम प्रतक्ष्य उपस्थिति हुन आग्रह गरेका छन् ।




