काठमाडौं/२४ भदौं-मूल्याङ्कन पद्धतिमा सुधार गर्नका लागि शिक्षण सिकाइ क्रियाकलापमा परिवर्तन गर्न आवश्यक रहेको सरोकारवाला र विज्ञले बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको ‘परीक्षा सञ्चालन तथा मूल्याङ्कन विधि समीक्षा’ कार्यक्रममा बोल्दै मूल्याङ्कनमा सुधारगर्न कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापलाई परिवर्तन गनुपर्ने आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप र मूल्याकङ्कन प्रक्रियाको बारेमा बृहत छलफल हुन जरुरी भएको बताए । ‘ मूल्याङ्कन मात्र सुधार गरेर शिक्षा क्षेत्रमा सुधार आउँदैन ’ उनले भने, ‘अहिले हामीले पाठ्यक्रममा आधारित रहेर मूल्याङ्कन गर्छौं । पाठ्यक्रममा भन्दा बाहिर अर्थात बच्चाको गतिविधिलाई हेरेर मूल्याङ्कन गर्न सकिने अवस्थामा पुगेका छैनौं । त्यसको लागि विद्यालय तहबाटै मिहिनेत गर्नुपर्छ ।’

शिक्षक सिकाइ लिबरल छ यो पोलीसीले तल्लो तहदेखि माथिल्लो तहमा पुग्दा समस्या देखिएको उनले बताए । कक्षा १२ को नतिजामा गणितमा धेरै विद्यार्थी फेल भएका छन् । ‘कोभिड पछिको परीक्षा भएको हुनाले प्रश्नपत्रलाई सजिलो तर्फ जाउँ भन्ने छलफल गरेर नै प्रश्नपत्र निर्माण गरिएको थियो ।’ उनले भने, ‘१०० पूर्णाङ्कमा २० नम्बरका कठिन प्रश्न सोधिए पनि ८० नम्बरका सजिलै थियो तर धेरै बच्चाले एक दुुई नम्बर मात्र ल्याएका छन् मूल्याङ्कनमा मात्र समस्या होइन कक्षाकोठामा नै समस्या भएको हो ।’
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनसका डिन प्रा.डा.बालचन्द्र लुइटेलले विद्यालय शिक्षा गुणस्तर सुधार्न कक्षाकोठाको सिकाइलाई बाहिर लगेर व्यवहारिक सिकाइ हुनुपर्नेमा जोड दिए । शिक्षक सिर्जनात्मक हुनुपर्छ । धेरै शिक्षक त्रिभुवन विश्वविद्यालयबाट उत्पादन भएका छन् । त्रिविले सुगा रटाइको शिक्षा दिँदा समस्या सिकाइमा भएको डिन लुइटेलले बताए । ‘क्रिएटिभ प्रश्न निर्माण गर भन्छौं त्यस्ता प्रश्न सोद्दा धेरै विद्यार्थी फेल हुन्छन् ।’ उनले भने, ‘समस्या मूल्याङ्कनमा होइन सिकाइमा छ ।’

यस्तै प्याब्सनका अध्यक्ष डीके ढुंगानाले विद्यार्थीको वृद्धिविकासँगै गुणस्तरिय पठनपाठनमा प्याब्सनले काम गरिरहेको जानकारी दिँदै विश्वविद्यालयसँग सहकार्य गरिरहेको जानकारी दिए । साथै परीक्षा र मूल्याङ्कनमा समस्या आएकाले यसको समाधान र व्यवस्थापनका लागि सामूहिक बहसको थालनी गरेको बताए ।
काठमाडौं विश्वविद्यालयका स्कुल अफ एजुकेसनसका एशोसिएट डिन प्रा.डा.धनपति सुवेदिले नेपालको शिक्षण पद्धति र पाठ्यक्रम राम्रो नरहेको तर मूल्याङ्कन गर्दा विद्यार्थीलाई च्याप्ने काम भइरहेको बताउँदै यसले विद्यार्थीलाई असर परेको बताए ।
उनले नन ग्रेड भनेको विद्यार्थीलाई फेल गरेको भन्दापनि बढी सजाय दिएजस्तो भएको र त्यसले विद्यार्थीमा निरासा ल्याएन भन्दै विद्यार्थीको भविष्य के हुने विचार गर्न आग्रह गरे । साथै शिक्षक राम्रो भएपनि चारभित्ता भित्र रहेर पढानुपर्ने बाध्यता रहेकोले चार भित्ता भन्दा बाहिर गएर पढाउन राज्यले लगानि बढाउनुपर्ने सुझाब दिए ।
शिक्षाविद मेदिन बहादुर लामिछानेले दुर्गम क्षेत्रमा पढेका विद्यार्थी र शहर क्षेत्रमा पढेका विद्यार्थी विचको सिकाइमा कति अन्तर छ भन्ने कुरा राज्यले ख्याल गर्नुपर्ने बताउँदै शिक्षण सिकाईमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले कुन विषयमा कति विद्यार्थी के कारणले फेल भए अनुसन्धान गरेर समाधान गर्नुपर्ने सुझाब दिए । साथै अरु विषयमा राम्रो अंक ल्याउने र एउटा विषयमा फेल गरेको अवस्थामा विद्यालय व्यवस्थापन तथा विषय शिक्षक पनि जिम्मेवार बन्नुपर्ने भनाई राखे ।
कार्यक्रममा सहभागीहरुले बोर्डको मूल्याङ्कन प्रणाली सुधार गर्नुपर्ने कुरा राख्दै विद्यालय शिक्षामा उदार कक्षेन्नतिको नीति लागू भएपछि झन समस्या देखिँदै आएको बताए । शिक्षाविज्ञद्वय ज्ञानेन्द्र वन र हरि मुस्यानले ‘परीक्षा सञ्चालन तथा मूल्यांकन विधि समीक्षा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।



