काठमाडौं/१५ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीशंकर माध्यमिक विद्यालय थपवा, बाँकेका प्रधानाध्यापक मुहम्मद युनुस खाँविरुद्ध मंगलबार बिशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ८ स्थित श्री शंकर माध्यमिक विद्यालय थपवा, बाँकेमा जिल्ला शिक्षा कार्यालय, बाँकेबाट २०६८ सालदेखि २०७४ सालसम्ममा छात्रवृत्तिको लागि प्राप्त रकममा, कम्प्यूटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको गरी ३ लाख २ हजार १९७ रुपियाँ (तीन लाख दुई हजार एक सय सन्तानब्बे रुपियाँ) हिनामिना गरेको हठर गर्दै अदालतमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारले निजमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए अनुसार ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र दफा ३ को उपदफा १(घ) बमोजिम कैद सजाय हुन तथा हानिनोक्सानी भएको रकम ऐनको दफा १७ बमोजिम निजबाट असुलउपर गर्न समेत मागदाबी गरको छ ।



