काठमाडौँ /१० असार-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षाका नाममा बार्षिक एक खर्ब बढी रकम विदेश गएको बताएका छन् । शुक्रबार ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राज्यले नयाँ नयाँ योजनाहरु ल्याएर बाहिर जाने विद्यार्थी रोक्नुपर्ने बताएका हुन् ।
नेपाललाई उच्च शिक्षाको हब बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले भने “निजी क्षेत्र र सरकारको सहकार्यमा मात्रै शिक्षामा गुणस्तर सुधार्न सकिन्छ । अहिले पब्लिक–प्राइभेट–पार्टनरसिपमै शैक्षिक गुणस्तर सुधार्नुपर्छ । नेपाललाई उच्च शिक्षाका लागि हब बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ । ”
त्यसैगरी राज्यमन्त्री श्रेष्ठले राज्यले शिक्षामा लगानी थपेर हरेक पालिकाहरुमा प्राविधिक विद्यालयको निर्माण गरी शिक्षालाई सिपसँग जोड्नुपर्नेमा जोड दिए । उनले सार्वजनिक विद्यालयको माध्यमिक तहमा अहिले पनि ५१ हजार शिक्षक अपुग रहेको, भौतिक संरचना राम्रो नरहेको बताउँदै शिक्षामा राज्यले धेरै काम गर्नुपर्र्नेे बताए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले नेपालको शिक्षा क्षेत्रलाई अगाडी बढाउन र गुणस्तरीय शिक्षा दिनमा निजी शैक्षिक संस्थाहरुको ठुलो योगदान रहेको बताए । हिसानका बरिष्ठ उपाध्यक्ष युवराज शर्माले विद्यार्थीको विदेश पलायनले नेपालका कलेज र विश्वविद्यालय सञ्चालनमा कठिन अवस्था आएकोले सरोकारवाला सबैले ध्यान दिन आग्रह गरे ।
हिसानका अध्यक्ष रमेशकुमार सिलवाले सरकारको नेतृत्व तहमा निजी शिक्षा क्षेत्रलाई बुझेका र लगानि गरेका श्रेष्ठ रहेकोले शिक्षा नीति तत्काल ल्याउनमा पहल गर्न आग्रह गरे । उनले नेपालको शिक्षा क्षेत्रमा निजीले सार्वजनिक शैक्षिकसंस्थाहरुलाई सहयोग गरेर अगाडी बढ्न खाँचो रहेको समेत बताए ।



