शिक्षक सेवा आयोगले लिखित परीक्षा वस्तुगतको पुनर्योग व्यवस्था हटायो

काठमाडौं /११ असार-शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ संशोधन गरेको छ । आयोगले शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गर्न बाञ्छनीय भएकोले पहिलो पटक संशोधन गरेएको हो ।


साथै शिक्षक सेवा आयोग नियमावली (संशोधनसहि), २०५७ को नियम ५३ ले दिएको अधिकार प्रयोग गरी शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि बनाएको छ ।


कार्य सञ्चालन कार्यविधि २०७८ को दफा ३३ मा संशोधन गरी देहाय (ङ) पछि देहायको (च) थपेको छ । थपिएको (च) मा आयोगले लिने परीक्षामा आवेदन दिएका कुनै पनि उम्मेदवार पुर्पक्षका लागि थुनामा वा हिरासतमा रहेका छन् भने त्यस्ता उम्मेदवारलाई परीक्षामा सहभागी गराउने विशेष व्यवस्था हुने छैन ।


त्यस्तै मूल कार्यविधि, २०७८ को दफा ३५ मा संशोधन गरी दफा ३५ को उपदफा (४) पछि दहायको उपदफा (५) थपिएको छ । जस्मा (५) उपदफा (१) बमोजिम अपाङ्गता भएका व्यक्तिले सहयोगी लेखक नराखी आफैंले परीक्षा दिन चाहेमा त्यस्ता उम्मेदवारलाई सहयोगी लेखकले पाए सरहको सुविधा पाउने छन् ।


मूल कार्यविधि, २०७८ को दफा ३७ मा संशोधन गरी मूल कार्यविधिको दफा ३७ को देहाय (८) देहाय प्रतिबन्धात्मक वाक्यांश थपिएको छ । “तर अनलाइन माध्यमबाट दरखास्त लिई रोल नम्बर कायम भएकाको हकमा आयोगबाट लिइने लिखित परीक्षाका लागि रोल नम्बरको आधारमा बसाइ व्यवस्था मिलाउने”


मूल कार्यविधिको दफा ४४ को उपदफा (६) पछि देहायको उपदफा (७) थपिएको छ । जस्मा दफामा जुनसुकै कुरा लेखिएता पनि माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा वस्तुगत उत्तरपुस्तिका (ओएमआर) प्रयोग भएकाको हकमा परीक्षण पूर्वको कार्य आयोगबाट निर्णय भएबमोजिम हुनेछ ।


मूल कार्यविधिको दफा ५५ मा संशोधन गरी मूल कार्यविधि, २०७८ को उपदफा (८) मा देहायको प्रतिबन्धात्मक वाक्यांश थपिएको छ । “तर ओएमआर मेसिनको प्रयोग गरी वस्तुगत उत्तरपुस्तिका (ओएमआर सिट) परीक्षण गरी कुनै पनि लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा पुनर्योगको व्यवस्था गरीने छैन ।