त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचनमा चार संगठनको गठबन्धन

काठमाडौं /१८ जेठ-असार १० गते हुने त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचनमा सत्तानिकट चार दलका पेशागत संगठनबीच तालमेल हुने भएको छ । संघको १२औं निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्दे सत्तानिकट चार संगठनले साझा उमेद्वार तयार गरि साझा चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने सहमति गरेका छन् ।


मंगलबार विज्ञप्ति सार्वजनिक गर्दे सहमतिमा त्रिवि प्रजातान्त्रवादी कर्मचारी संघका अध्यक्ष प्रकाश पुडासैनी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष शालिकराम सापकोटा, त्रिवि एकीकृत कर्मचारी संगठनका संयोजक भुपाल चालिसे र राष्ट्रिय कर्मचारी संगठन नेपालका संयोजक रामसुन्दर कार्कीले हस्ताक्षर गरेका छन् ।


संघलाई साझा बनाउन त्रिविमा क्रियाशील सबै संगठनसँग पटक पटक वार्ता र पहल गरे पनि सफल नभएपछि चार संगठनले तालमेल गरेका हुन् । खासगरी एमालेनिकट प्रगतिशील संगठनले सहमितमा सबै पदाधिकारी निर्विरोध रुपमा चयन गर्ने प्रस्तावमा असहमति जनाएपछि चार संगठन तालमेल गरेर चुनावी मैदानमा जाने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘त्रिविलाई सबल, सक्षम र आत्मनिर्भर बनाउँदै यस सस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको आत्मसम्मान र गौरवका साथ काम गर्ने वातावरण सिर्जना गरि उनीहरुको पेशागत हक हित अधिकारको सुनिश्चिता गरि पेशागत उन्नयन गर्ने मुख्य उदेश्यका साथ साझा संघ निर्माण गर्न पटक पटक वार्ता मार्फत पहल गर्दा पनि प्राविधिक तथा विविध कारणले सहमति जुट्न सकेन,’ विज्ञप्तिमा भनिएको छ ।