शिक्षामा बजेट : अति आवश्यक र संवेदनशील समस्यालाई सम्बोधन गरेन

काठमाडौं /१६ जेठ-मन्त्री हुनु भन्दा करिब एक महिना अगाडि जनार्दन शर्मालाई एउटा सार्वजनिक कार्यक्रममा एक प्रश्न सोधेको थिएँ; अन्तर्राष्ट्रीय मापदण्ड अनुरुप शिक्षामा २० प्रतिशत बजेट किन नछुट्ट्याएको ? उहाँको उत्तर थियो, “ शिक्षामा कमिसन नआउने भएकोले शिक्षामा पर्याप्त बजेट नछुट्ट्याएका हुन् ।”

 “ शिक्षामा कमिसन नआउने भएकोले शिक्षामा पर्याप्त बजेट नछुट्ट्याएका हुन् ।"


त्यसको केही महिना पछि उहाँ अर्थ मन्त्री बन्नु भयो । बजेट बन्नु भन्दा पहिले सरोकारवाला धेरै पक्षसँग छलफल तथा अन्तरक्रिया पनि गर्नुभयो । मलाई लागेको थियो, मन्त्री आफैँले शिक्षा बुझेको व्यक्ति, त्यसमाथि शिक्षामन्त्री पनि शिक्षामा २० प्रतिशत बजेट हुनुपर्छ भनेर लबिङ्ग गर्दै गरेको समाचार आएको कारण यस पटक शिक्षामा राम्रै बजेट बिनियोजन हुन्छ, शिक्षा क्षेत्रका तमाम समस्या समाधान होलान भन्ने आशा थियो ।


तर, त्यसको ठीक उल्टो, पहिले भन्दा ०.०४ प्रतिशतले मात्र बढेर १० प्रतिशतको हाराहारीमा बजेट तर्जुमा भयो । उहाँले आफैंले बोलेको कुरालाई आफैंले पालना गर्न कति सक्नु भयो भएन, त्यो फरक विषय हो । तर, यस पटक छुट्ट्याएको बजेट कति व्यवहारिक छ ? कति सान्दर्भिक छ ? शैक्षिक क्षेत्रको आवश्यकता के थियो ? के गर्नुपर्दथ्यो ? सरकारले ल्याएको बजेट कहाँनेर चुक्यो ? यस आलेखमा यिनै विषयमा चर्चा गरिएको छ ।


शैक्षिक क्षेत्रका विद्यमान समस्याहरुः


१. बाल कक्षाका शिक्षक र कार्यालय सहयोगीको तलब सुविधाका सम्बन्धमा अघिल्ला सरकार निकै आलोचित थिए । बालकक्षाका शिक्षक अत्यन्त न्यून तलब सुविधामा काम गर्न बाध्य छन् । गतवर्षको बजेटमा केही रकम संघीय सरकारले छुट्ट्याएर बाँकी रकम स्थानीय सरकारले थपेर दिनुपर्ने प्रावधान उल्लेख गरे पनि अधिकांश स्थानीय तहले उक्त रकम निकासा गरेका छैनन् ।


२. नेपालमा पचासौं हजारको संख्यामा शिक्षक दरबन्दी अपुग छ । शिक्षक दरबन्दी अभावका कारण संविधानले निःशुल्क भनेको माध्यमिक तहसम्मको शिक्षा कार्यान्वयन हुन सकेको छैन । शिक्षकको अभाव, विद्यार्थीको बढ्दो चाप, पर्याप्त भौतिक संरचनाको कमी, आवश्यक शैक्षिक सामाग्रीको कमी लगायतका समस्याले गर्दा सहरी क्षेत्रका केही राम्रा भनिएका विद्यालयले विद्यार्थीसँग शुल्क उठाउन थालेका छन् । जुन कानुनतः गलत हो ।


३. अधिकांश विद्यालयमा आवश्यक भौतिक संरचनाको अभाव छ । तीन वर्ष अगाडि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले नेपालका सबै सार्वजनिक विद्यालयको भौतिक अवस्था सुधार गर्ने भनेर उल्लेख गरे पनि अहिले सम्म विद्यालयको भौतिक अवस्थामा उल्लेख्य सुधार देखिन सकेको छैन । पर्याप्त डेस्क बेञ्चको अभावमा अहिले पनि विद्यार्थी जुटको बोरा घरैबाट लिएर ओच्छ्याएर बस्न बाध्य छन् । वर्षा लागेको छ, विद्यालयको छानो अहिले पनि चुहिने अवस्था छ । खानेपानी, शौचालय जस्ता अति आवश्यक कुराको अभाव अधिकांश विद्यालयले झेलिरहेका छन् ।


४. पाठ्यपुस्तक कहिले पनि समयमा पुग्ने गरेको छैन । यसपटक विद्यालय खुलेको महिना दिन पुग्न लाग्दा समेत पाठ्यपुस्तक विद्यार्थीको हातमा कहिले पुग्ने हो भनेर टुंगो छैन ।


५. विद्यालयमा अति आवश्यक शैक्षिक सामाग्री, खेल सामाग्री, कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, इन्टरनेट, खानेपानी लगायतका सामाग्री खरिद तथा संचालनका लागि आवश्यक बजेट छैन । यसको अभावमा विद्यालयको गतिशीलता रोकिएको अवस्था छ । विद्यालय प्राणविहीन छन् ।


६. विद्यालयमा विद्यार्थी रमाउने वातावरणको निर्माण गरिएको छैन । विद्यार्थीको प्रत्यक्ष सिकाइ वा मनोरन्जनका लागि आवश्यक स्रोत सामाग्रीको अभाव छ । शिक्षा भनेको पुस्तकको रटाइ मात्र नभएर सर्वाङ्गीण विकासका दृष्टिकोणले अन्य अतिरिक्त क्रियाकलाप, खेलसामाग्री, व्यवस्थित खेलमैदान, ल्याब, लाइब्रेरी, खेलकुद, नृत्य, संगीत लगायतका कक्षा तथा ती विषयका प्रशिक्षकको अभाव छ ।


७. एक्काइसौँ शताब्दीका विद्यालय सूचना र प्रविधिको सरल र सहज पहुँचमा हुनु पर्ने हो । तर अहिले पनि अधिकांश विद्यालयमा इन्टरनेट पुग्न सकेको छैन । शिक्षक डिजिटल रुपमा निरक्षर जस्तै छन् । गत वर्ष कोभिडले विश्वभरि आक्रान्त पारेको समयमा पनि सहरी र सुगम क्षेत्रका विद्यालयले समेत डिजिटल÷ अनलाइन सिकाइको प्रयोग गर्न सकेनन् ।


८. शिक्षक तथा प्रधानाध्यापकको क्षमता विकास तालिम, कार्यशाला अत्यन्त नगन्य मात्रामा हुने गरेका छन् । तीनवर्ष अगाडि लागू भएको कक्षा १–३ पाठ्यक्रमको प्रवोधीकरण तालिम अहिले पनि धेरै शिक्षकले पाएका छैनन् । नेपाल सरकारले सन् २०८० सम्म माध्यमिक तहसम्मका सबै विषयको पाठ्यक्रम परिवर्तन गर्ने नीतिबमोजिम हाल कक्षा ५, ८ र दश बाहेक सबै विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक परिवर्तन भएका छन् । तर, उक्त नयाँ पाठ्यक्रमको मर्म के हो ? मुल्यांकनका आधार के हुन्, कसरी सहजीकरण गर्ने भन्ने विषयको तालिम संचालन हुन सकेको छैन ।


९. नेपालका सामुदायिक विद्यालयका अधिकांश प्रधानाध्यापक एक्काइसौँ शताब्दीका विद्यालय संचालन गर्न असक्षम छन् । उनीहरु दुई तरिकाले असक्षम देखिएका छन् । पहिलोमा उनीहरुले आफ्नो नेतृत्वलाई समय अनुकुल ढाल्न सकेका छैनन् । प्रशासनिक दक्षताको कमी छ । नेतृत्व र व्यवस्थापकीय क्षमता नै कमजोर छ । दोस्रो; राज्यले नै उनीहरूलाई कमजोर बनाएको छ । विद्यालयका लागि आवश्यक स्रोत सामाग्री नदिने, न्युनतम कार्यालय सहयोगी, दिवा खाजाका लागि स्टाफ र सहयोगी, विद्यार्थी र कक्षा संख्या अनुरुप शिक्षक, आवश्यक शैक्षिक सामाग्री लगायतका कुनै पनि शीर्षकमा अतिरिक्त बजेट छैन । थोरै विद्यार्थी हुने विद्यालयमा दिवा खाजा र पाठ्यपुस्तक बाहेक अन्य कुनै पनि रकम नजाने भएकोले केही गर्न खोज्ने प्रधानाध्यापक निराश छन् । यस कारण विद्यालयको सुधार हुनुको साटो झन् खस्कंदै गरेको अवस्था छ । नेपाल सरकारले आधारभूत तहका विद्यालयलाई तत्काल आक्रामक योजना ल्याएर औधार नगर्ने हो भने अबको केही वर्ष भित्रमै अधिकांश विद्यालय विद्यार्थीविहीन हुने अवस्था प्रष्ट देखिन थालेको छ ।

नेपालका सामुदायिक विद्यालयका अधिकांश प्रधानाध्यापक एक्काइसौँ शताब्दीका विद्यालय संचालन गर्न असक्षम छन् । उनीहरु दुई तरिकाले असक्षम देखिएका छन् । पहिलोमा उनीहरुले आफ्नो नेतृत्वलाई समय अनुकुल ढाल्न सकेका छैनन् । प्रशासनिक दक्षताको कमी छ ।


१०. शिक्षामा नवीनतम सोच, बालमैत्री वातावरण, खोज तथा कार्यमूलक अनुसन्धान, प्रगतिशील शिक्षण सिकाइ लगायतका विषयमा ठुलो अभाव देखिन्छ । विद्यार्थीको सिकाइ उपलब्धी अत्यन्त कमजोर छ ।भाषागत विषयमा पठन तथा लेखन सीप तथा गणित र विज्ञानमा विद्यार्थीको सिकाइ उपलब्धी अत्यन्त निराशाजनक देखिएको छ । यस सम्बन्धमा नेपाल सरकारले उल्लेख्य काम गर्नुपर्ने देखिन्छ ।


११. अभिभावक शिक्षाः सार्वजनिक विद्यालयका अभिभावकमा ब्यापक रुपमा जागरण र चेतनाको विकासमा काम गर्नुपर्ने देखिन्छ । अभिभावकको सहभागिता र सक्रीयता बिना विद्यालयको सुधार र विकास हुन सक्दैन । अर्को कुरा विद्यार्थीको सिकाइसंग अभिभावकको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको समेत प्रभाव पर्ने हुनाले यो पक्षलाई पनि सम्बोधन गर्नुपर्ने देखिन्छ । तर, विडम्बना ! हाम्रा सामुदायिक विद्यालयमा बालबालिकाको पठनपाठनका सवालमा निकै कम मात्रामा अभिभावक भेला तथा अभिभावक प्रशिक्षण कार्यक्रम हुने गरेका छन् ।

बजेटले समेटेका मुद्धाहरुः


बजेटले कतिपय सकारात्मक मुद्धा समेटेको भए पनि ती माथि उल्लेख गरिएका अति आवश्यक वा अपरीहार्य मुद्धाको सम्बोधन गर्न सक्षम छैनन् । शिक्षक÷प्रधानाध्यापकको क्षमता विकास, प्राविधिक धारको शिक्षाको लागि विशेष व्यवस्था, सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य जाँच, १० हजार युवालाई उद्यमशीलता तालिम, युवा वैज्ञानिकलाई अनुसन्धानमुलक खोजमा प्रोत्साहन, वैज्ञानिक अनुसन्धान र विकास, नयाँ सोच र नवप्रवर्तनमा आधारित उद्यमशीलताको विकासका लागि बिजिनेस निक्युबेसन सेन्टर, प्राविधिक शिक्षा प्रदेशलाई हस्तान्तरण गर्नु, कक्षा ६ सम्म दिवा खाजा, युवा साक्षरता अभियान संचालन, पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता, मावि उत्तीर्णलाई न्यूनतम एक सीप, विद्यार्थीलाई डिजिटल सिकाइ सामाग्री, सार्वजनिक विद्यालयलाई स्कुल बस खरिदमा सहुलियत, शिक्षक अस्पताल निर्माण लगायतका कार्यक्रम आकर्षक देखिए पनि तिनको संचालन र कार्यान्वयन पक्ष मौन छ । प्रधानाध्यापकले पांच लाख रुपैयाँ सम्म खर्च गर्न पाउने भने पनि त्यसको स्रोत के भन्ने नखुलाएको कारण यो पनि सतही देखिएको छ ।

केही बिचौलियाहरुले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मिलाइदिने भनेर ७ प्रतिशत कमिसनमा हाकाहाकी “डिल“ गर्दै हिंडेको पनि देखिएको थियो ।


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको केही रकम घटाइएको छ । तर १,२०० विद्यालयमा प्राविधिक भवन निर्माण गर्ने भनेर तोकिएको छ । गत वर्षका अनुभव हेर्ने हो भने यो कार्यक्रम कार्यकर्ता र पहुँचवालाको प्रभावमा खर्च हुने गरेको थियो । केही बिचौलियाहरुले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मिलाइदिने भनेर ७ प्रतिशत कमिसनमा हाकाहाकी “डिल“ गर्दै हिंडेको पनि देखिएको थियो । कुनै स्पष्ट उदेश्य र योजनाविना छरिएको उक्त कार्यक्रमको ब्यापक आलोचनाका बीच स्कुल संख्या र उध्येश्य तोकेर आएको यस वर्षको कार्यक्रम पनि उही प्राविधिक भवन निर्माणमै जाने भएपछि यो पनि कमिसनकै चक्करमा योजना पारिएको छर्लंग भएको छ ।


गत वर्ष सुरु भएको पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा सुरु भए पनि अहिले सम्म रकम निकासा नभएको भनेर सम्बन्धित विद्यालयका प्रधानाध्यापकको गुनासो सुनिन्छ । एकै पटक असार मसान्तमा आएर “एक हप्ताभित्र खर्च गरिसक्नू“ भन्ने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकै छनकमा उक्त कार्यक्रम पनि जाने देखिएको छ । यसरी नै संचालन गर्ने हो भने आकर्षक सुनिए पनि यी दुवै कार्यक्रम असफल हुने तथा ठुलो रकम बालुवामा पानी हुने निश्चित छ ।


के गर्नु पर्दथ्यो ?


१. माध्यमिक तह उत्तीर्ण गरे पछि न्यूनतम एक सीप कार्यक्रमलाई “ एक विद्यालय एक उत्पादन, एक विद्यार्थी एक सीप“ कार्यक्रम बनाएर विद्यालयमा पढ्दा पढ्दै सिक्ने वा गर्ने गरी “पढ्दै कमाउँदै“ कार्यक्रमभित्र समावेश गर्नुपर्दछ । यो कार्यक्रमको पाइलटिङ्ग भैसकेको कारण देशभरिका स्थानीय आवश्यकता, स्रोत÷साधन, कच्चा पदार्थको उपलब्धता, बजारको व्यवस्थापन लगायतका कुरालाई अध्ययन गरेर एक हजार विद्यालयमा संचालन गर्नुपर्दछ ।


२. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको रकम बढाएर हरेक वर्ष कम्तीमा एक हजार विद्यालयको कायापलट गर्ने कार्यक्रम ल्याउनु जरुरी छ । अहिले छरिएको बजेट ठुलो रकममा खर्च भए पनि देख्ने गरी सुधार भएको छैन । धेरै ठाउँमा रकम दुरुपयोग भएको छ ।


३. सबै स्थानीय तहका सार्वजनिक विद्यालयको अध्यायन तथा नक्शांकन कार्य गरेर आवश्यकताका आधारमा विद्यालयलाई मर्ज गर्ने, यसरी मर्ज गरिएका विद्यालयलाई गाभे पछि बस सेवा तथा आवासीय सुविधा सहित “मेगा विद्यालय“ का रुपमा रुपान्तरण गर्ने, यसरी गाभिएका विद्यालयमा विश्वस्तरको शैक्षिक वातावरण, शिक्षण सिकाइ, प्रयोगात्मक सिकाई, अनुसन्धान लगायतका कार्यक्रम समावेश गर्ने,


४. सबै विद्यालयमा वार्षिक रुपमा “विद्यालय सुधार तथा विकास अनुदान“ पठाउने, यसरी पठाएको रकम तलब/भत्ता बाहेकको हुनु पर्दछ । विद्यालयको सामान्य मर्मत सम्भार, रंगरोगन, विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापको आयोजना, क्षमताविकास तालिम, अभिभावक सचेतना कार्यक्रम, शैक्षिक सामाग्री लगायतका विषयमा प्रधानाध्यापक आफैंले खर्च गर्न पाउने प्रावधान रहनुपर्दछ । अहिलेको बजेटमा प्रअले पाँच लाख रुपैयाँसम्म खर्च गर्न पाउने भनिए पनि कुन स्रोतबाट खर्च गर्ने भन्ने अन्यौल देखिएकोले उक्त रकममा फेरबदल गरेर पाँच सम्म चलेका आधारभूत तहका विद्यालयका लागि ५ लाख, आठसम्म चलेका आधारभूतका लागि ८ लाख, कक्षा १० सम्म चलेका विद्यालयलाई १० लाख र १२ सम्म चलेका विद्यालयलाई न्युनतम १५ लाख रुपैयाँ विद्यालय सुधार तथा विकास अनुदान पठाउनु पर्दछ । यो रकम संघीय सरकारले सोझै विद्यालयको खातामा पठाउनु पर्दछ ।

पाँच सम्म चलेका आधारभूत तहका विद्यालयका लागि ५ लाख, आठसम्म चलेका आधारभूतका लागि ८ लाख, कक्षा १० सम्म चलेका विद्यालयलाई १० लाख र १२ सम्म चलेका विद्यालयलाई न्युनतम १५ लाख रुपैयाँ विद्यालय सुधार तथा विकास अनुदान पठाउनु पर्दछ । 


५. दरबन्दी मिलान राज्यको एउटा मूख्य चुनौतीका रुपमा देखा परेको छ । कुनै विद्यालयमा विद्यार्थी छैनन् । शिक्षकले घाम तापेर बस्नु परेको छ । केही विद्यालयमा विद्यार्थी र कक्षाको अनुपातमा शिक्षकको अभाव भएर निकै ठुलो समस्या झेल्नु परेको छ । यस सन्दर्भमा शिक्षकको दरबन्दीलाई अविलम्ब अध्ययन गरेर हेरफेर गर्ने र आवश्यक नयाँ दरबन्दी थप्ने अबिलम्ब गर्नु पर्ने देखिन्छ ।


६. प्रधानाध्यापकको छुट्टै पद सिर्जना गरेर विशेष अधिकार र सेवा सुविधा दिएर करारमा राख्ने व्यवस्था हुनु पर्दछ । अहिले विद्यमान प्रधानाध्यापकको क्षमता माथि पटक पटक प्रश्न उठ्ने गरेको तथा सार्वजनिक विद्यालयको अवस्था पनि नाजुक देखिएको कारण यस कार्यलाई अति संवेदनशील तथा उच्च प्राथमिकतामा राखेर उपयुक्त कदम चाल्नु उपयुक्त हुन्छ ।


७. दिवा खाजा क्रमश कक्षा ८ सम्म दिने भन्ने नीति तथा कार्यक्रममा राखिएको भएता पनि यसलाई व्यवस्थित गर्ने कुरामा समस्या देखिएको छ । हजारौं विद्यार्थी संख्या भएको विद्यालयमा खाजा बनाउने र खुवाउने जनशक्ति पनि उत्तिकै लाग्ने गरेको छ ।अधिकांश आधारभूत विद्यालयमा शिक्षकको बढी समय पढाउने भन्दा पनि खाजाको व्यवस्थापन गर्ने कुरामा खर्च भएको पाइएको छ ।


८. बालकक्षा सहजकर्ता तथा कार्यालय सहयोगीको तलब भत्ताका विषयमा बजेट मौन छ । राज्य आफैंले तोकेको न्यूनतम तलब सुविधा पनि दिन नसक्नु लाचारीपन हो । बालकक्षाको पुनर्संरचना आवश्यक देखिएको छ । अहिले भएका बालकक्षा सहजकर्तालाई शिक्षण सहयोगी सहजकर्ता बनाई बालबालिकाको मनोविज्ञान तथा सिकाइको पूर्ण ज्ञान भएका विज्ञ शिक्षकको नियुक्ति गर्नु पर्दछ ।


९. “हामी बनाउछौं, हाम्रो विद्यालय’“ भन्ने थिममा निजी क्षेत्र, सरोकारवाला तथा समुदायलाई विद्यालयको सुधार र विकासमा जोड्न आवश्यक छ ।


१०. शिक्षकको क्षमता विकास तालिम, विषयगत तालिम, प्रधानाध्यापकको नेतृत्व विकास तालिम, अभिभावक सचेतना तथा अभिमुखीकरण तालिम लागायत निजी क्षेत्रसमेतको सहकार्यमा कार्यान्वयन गर्ने व्यवस्था मिलाएमा बढी प्रभावकारी हुन्छ ।


११. अन्त्यमा, प्रचलित अन्तर्राष्ट्रिय मान्यताअनुरुप शिक्षामा २० प्रतिशत बजेट अनिवार्य हुनु पर्दछ । नेपालको सन्दर्भमा सबैभन्दा बढी बजेट शिक्षामा नै देखिएको भए पनि यो अपुग छ । तर, संघीय शिक्षा ऐन अविलम्ब जारी गरेर अहिलेको शिक्षाको संरचनागत र व्यवस्थापकीय ढांचालाई परिवर्तन गर्न सकिएन भने २० प्रतिशत मात्र होइन, ३० प्रतिशत नै बजेट छुट्ट्याए पनि शिक्षाको लगानी खेर जाने निश्चित छ ।


निस्कर्षमा, अहिलेको बजेट झट्ट सुन्दा आकर्षक लागे पनि अव्यवहारिक र कार्यान्वयनका पक्षमा जटिल देखिएको छ । यो बजेटले शिक्षा क्षेत्रका अति आवश्यक र संवेदनशील समस्यालाई सम्बोधन गरेको छैन ।
(अभिषेक घिमिरे वृहत् राष्ट्रिय शिक्षा अभियान–नेपालका संयोजक हुन ।)