स्नातक तहको रजिष्ट्रेसन फारम भरी पठाउन पोखरा विश्वविद्यालयको निर्देशन

कास्की/७ जेठ-पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह २०२२ को रजिष्ट्रेसन फारम भर्नका लागि सूचना जारी गरेको छ । विश्वविद्यालयका आंगिक,संयुक्त आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक सत्र २०२२ मा स्नातक तह भर्ना भएका विद्यार्थीहरुका लागि रजिष्ट्रेसन फारम भर्न भनिएको हो ।


विद्यार्थीको विश्वविद्यालयमा नाम दर्ता हुनुपर्ने भएकाले रजिष्ट्रेसन फारम रितपूर्वक भरी जेठ २५ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयको रजिष्ट्रेसन शाखामा अनिवार्य आइपुग्नेगरी पठाउन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण कलेजहरुलाई निर्देशन दिएको छ ।


रजिष्ट्रेसन फारम भरी स्वयम कलेजको आधिकारीक व्याक्तिले लिएर आउनु पर्ने छ । रजिष्ट्रेसन फारम रितपूर्वक नभरीएको पाइएमा वा तोकिएको मिति भन्दा पछाडि प्राप्त भएमा वा माइग्रेशन लगायत तोकिएका डकुमेन्ट पुरा नभएको पाइएमा विश्वविद्यालयले रजिष्ट्रेसन गर्न बाध्य नहुने समेत जनाएको छ ।