काठमाडौं/१८ वैशाख-सरकारले सातामा दुई दिन सार्वजनिक बिदा गर्ने निर्णय गरे सँगै शिक्षण संस्थाहरुमा बिदा हुने भएको छ । अब सम्पूर्ण शैक्षिक संस्थाहरु विद्यालय, कलेज, विशवविद्यालय लगायतका शिक्षण संस्था शनिबार र आइतबार बन्द हुने भएका छन् ।
सरकारको निर्णय अनुसार विद्यालयका कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुनेछन् । योसँगै दुई दिनको विदाले विद्यार्थीको शिक्षण सिकाइलाई प्रभाव नपार्ने गरी कार्यविधि ल्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
यसरी हप्ताको दुई दिन बिदाले शिक्षा क्षेत्रको गुणस्तरमा ह्रास हुने प्याब्सनका निवर्तमान अध्यक्ष टिकाराम पुरी बताउछन् । बालबालिकाको सिकाइसँग जोडिएको क्षेत्र भएकाले अरु व्यावसाय र कम्पनी जस्तो गरी विद्यालय शनिबार र आइतबार बन्द गर्न नहुने उनको तर्क छ ।
नेपालमा अहिले पनि राजनीतिक अस्थिरता रहेको र बन्द हडताल भइरहने भएकाले दुई दिन बिदाले विद्यालयमा पठनपाठन अझ कम हुन्छ जस्ले गर्दा शिक्षामा असरपर्ने बताए । उनले भने “विद्यालयहरुले १८० दिन कम्तिमा पठनपाठन गर्नुपर्ने व्यावस्था छ । तर यसरी बिदा दिने होे भने पाठ्यक्रमले निर्धारण गरे बमोजिम पठनपाठन गरेर समयमै सक्ने अवस्था हँुदैन । त्यत्रो अध्ययन गरेर बनाएको पाठ्यक्रमलाई इन्धनको खपत घटाउने भन्दै विद्यार्थीको भविष्यमा असर पर्ने गरी निर्णय गर्न मिल्दैन र यो शिक्षाका लागि राम्रो संकेत होइन ।”
त्यसैगरी पुरीले यस्तै निर्णय गर्ने हो भने नेपालको शिक्षा बिग्रिने बताउँदै सकेसमम दुई दिन बिदा नगर्न सरकारसँग आग्रह गरेका छन् । सकेसमम दुइदिन बिदा नगरौं तथापी सरकारले जबरजस्ति नै गरेर निर्णय यही हो बिदा लागु हुन्छ भन्छ भनेपनि निजी क्षेत्रले बिदा गर्न नहुने उनको भनाइ छ । उनले जसरी उद्योग बाणिज्य क्षेत्र वा व्यवसायी क्षेत्र हप्तामा एक दिन मात्र बिदा गरिन्छ त्यसैगरी निजी शिक्षा क्षेत्रले पनि त्यस्ता खालका विकल्प अपनाउनु पर्ने बताए ।
“हप्तामा दुई दिन बिदा दिने प्रचलन नेपालका लागि अभिसाप हुन्छ । साथै निजी शिक्षा क्षेत्रले यसलाई स्विकार गर्देन” उनले भने ।



